प्रधानमन्त्री ‘प्रचण्ड’ स्वदेश फिर्ता : मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाण्डौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भारत भ्रमणले दुई छिमेकी देशबीचको सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप सबल बनाउन भूमिका खेलेको बताएका छन् ।

भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी भएर सोमबार बेलुका स्वदेश फर्किएका प्रधानमन्त्री ‘प्रचण्ड’ ले त्रिभुवन विमानस्थलमा द्विपक्षीय संयन्त्रसमेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य बढाउने गरी प्रधानमन्त्री मोदीसँग छलफल भएको बताए ।

भ्रमणका क्रममा भएका भेटवार्तामा दुई देशबीच विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन गर्ने, सबै संयन्त्रलाई परिचालन गर्ने, संयन्त्रमार्फत् नै सीमा समस्याको समाधान खोज्ने, पञ्चेश्वर र अरुण आयोजना एवम् कृषि क्षेत्रमा सहकार्य लगायतका विषयमा गम्भीर छलफल भएको उनको भनाई छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ भारतीय समकक्षी मोदीको शपथग्रहण समारोहमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतवार नयाँदिल्ली गएका थिए । शपथग्रहण समारोहपछि प्रधानमन्त्री ‘प्रचण्ड’ र समकक्षी मोदीबीच छोटो भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन् । त्यस्तै भारतका राष्ट्रपति द्रोपदी मुर्मूसँग ‘प्रचण्ड’ ले सोमबार शिष्टाचार भेटवार्ता गरेका थिए ।

Nabadurga Sunchadi
Loading...