एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका छन् ।

कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।

बोर्डले बुधबार नै नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर केही प्राविधिक कारण देखाउँदै आइतबारसम्मका लागि समय सारेको हो ।

बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ, जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ ।

७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्नेछ । लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरेर नतिजा प्रकाशन भएको छ।

सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक नपाएका विद्यार्थीको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । र, ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् ।

साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन् । यद्यपि दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् ।

दुईभन्दा बढी विषयमा न्यूनमत ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।

गत चैत १५ गतेदेखि शुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

बोर्डले एसइई नतिजा कसरी र कहाँबाट हेर्ने भनी सार्वजनिक सूचना नै जारी गरेर जानकारी दिइसकेको छ। एसइई नतिजा वेबसाइट,एसएमएस र आइभिआरबाट हेर्न सकिनेछ। नेपाल टेलिकमले पनि नतिजा हेर्नका लागि सार्वजनिक सूचना नै जारी गरेर जानकारी दिएको छ।

आइभिआरका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन,मोबाइलबाट १६०० डायल प्राप्त निर्देशनअनुसार गर्नुपर्ने छ। एसएमएसको लागि मोबाइलको म्यासेज बक्समा SEE<space> <symbol number> टाइप गरी १६०० मा पठाउनुपर्ने छ। वेबसाइटको लागि Website: http://see.ntc.net.np मार्फत हेर्न सकिने छ ।

Nabadurga Sunchadi
Loading...