ग्यास चुहिएर आगलागी हुँदा घाइते भएको नौ महिनापछि कांग्रेस सांसद भण्डारी गृहजिल्लामा

गुल्मी : खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भई लामो समयको उपचारपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् गुल्मी क्षेत्र नम्बर १ का सांसद डा। चन्द्रकान्त भण्डारी नौ महिनापछि पहिलो पटक गृहजिल्ला आइपुग्नुभएको छ ।

सांसद भण्डारी आज शुक्रवार नेपाल वायु सेवा निगम नेपाल एअरलाइन्स को जहाजमार्फत रेसुङ्गा विमानस्थल आइपुग्नुभएको हो । गएको फागुन ३ गते राति काठमाण्डौको आफ्नै निवासमा ग्यास चुहिएर आगलागी हुँदा घाइते हुनुभएका भण्डारीलाई उपचारका लागि भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टरु पुर्‍याइएको थियो । त्यहाँ लामो समयको उपचारपछि भण्डारी स्वदेश फर्किनुभएको थियो । आगलागीमा परेर भण्डारीकी आमा हरिकलाको निधन भएको थियो ।

नौ महिनापछि गुल्मी पुग्नुभएका सांसद भण्डारीले रेसुङ्गा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रष्टाचार देश विकासको प्रमुख बाधक बताउनुभयो । भष्ट्राचार देशका लागि ठूलो रोग भएको भन्दै उहाँले भष्ट्राचारलाई न्यूनीकरण गर्न नसकेसम्म नागरिकले आशा गरेअनुसारको विकासको प्रतिफल प्राप्त गर्न नसकिने बताउनुभयो ।

बोल्ने क्रममा गहभरि आँसु टिल्पिलाउँदै कांग्रेस नेता भण्डारीले जिल्लाको माया र आफ्नो विकासको सपनासँगै सबै शुभचिन्तकको आशीर्वादका कारण आफू मृत्युको मुखबाट उम्किन सफल बनेको भन्दै सबैलाई धन्यवाद दिनुभयो ।

भोलि शनिवार गुल्मीको सदरमुकाम तम्घासमा शुरु हुने नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्न भण्डारी गुल्मी आउनुभएको हो । दुर्घटनापछि पहिलो पटक जिल्लामा आउनुभएका भण्डारीको आगमनले जिल्लावासीमा थप खुशी र उत्साह थपिएको नेपाली कांग्रेसका पार्टी सभापति खिलध्वज पन्थीले बताउनुभयो ।

दोस्रो जिल्ला सम्मेलनमा कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका केन्द्रीय नेताहरू शनिवार गुल्मी आउने कार्यक्रम रहेको पन्थीले जानकारी दिनुभयो ।

Nabadurga Sunchadi
Loading...