अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा विपदमा यौन तथा प्रजनन स्वास्थ्य सेवालाई निरन्तरता कसरी दिने भन्ने विषयमा छलफल गरिएको छ । निड्स नेपालद्वारा सञ्चालित विपदमा अधिकारमुखी गुणस्तरीय प्रजनन स्वास्थ्य सेवामा पँहुच सुदृढीकरण कार्यक्रम अन्तरगत मंगलबार गोदावरीमा छलफल गरिएको हो ।
सोही कार्यक्रम अन्तरगत रहेर नगरको विपद व्यवस्थापन समिति संग विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना डीपीआएपी अध्यावधिका लागि छलफल गरिएको कार्यक्रम संयोजक रुची रानामगरले बताइन् ।
उनले परियोजना अन्तरगत नगरले बनाएका विपदका योजनालाई संसोधन गरेर सामुदायिक जवाफदेहिता संयन्त्र मार्फत कार्यान्वयन र मल्याङ्कन गरिने बताइन् । जसका लागि नगरका १२ वटै वडामा २१ वटा सामुदायिक सहजकर्ता छनोट गरिएका छन । सहजकर्ताको मातहतमा सामुदायिक परिषद पनि गठन गरिएको छ ।
छलफल कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले चुरे फेदमा रहेको गोदावरी विपदको उच्च जोखिममा रहेको बताए । उनले विपदमा हुने सबै किसिमका जोखिमबाट बच्नको लागि नगरपालिका सबै संघ सस्था सँग समन्वय गरेर अगाडि बढ्न तयार रहेको बताए । उनले नगरको विपद तथा स्वास्थ्य शाखा सँग समन्वय गरेर पालिकाको आवश्यकताको आधारमा काम गर्न सके सबैको हितमा हुने बताए ।