अवैध सुनसहित कैलालीका पाण्डे पक्राउ

काठमाण्डौँ : नेपाल प्रहरीले अबैध सुन कारोबारमा संलग्न कैलालीका एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडमा अवैध सुन कारोबारमा संलग्न कैलाली घर भई अहिले काठमाडौंको नागार्जुन बस्ने पदम पाण्डेलाई आज पक्राउ गरेको हो।

प्रहरीले न्युरोडमा रहेको ओमपाल गोल्ड शप प्रालि सँगैको कारखानामा छापा मार्दा अवैध सुनसहित पाण्डेलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।

उनले पाण्डेसँग बरामद भएको सुन अहिले जोख्ने काम भइरहेको बताए। सुन कति बरामद भएको भन्नेबारे प्रहरीले खुलाएको छैन।

बरामद सुनमध्ये केही बिस्कुट आकारका र केही गहना बनाइसकेको अवस्थामा फेला पारिएको प्रहरी प्रवक्ता रेग्मीले बताए।

Dhn_Laingik Hinsa 2082
Loading...