श्रीमान विरुद्ध प्रहरीमा धाउने पीडित महिलाको संख्या बढ्दै

धनगढी : कैलालीमा बहुविवाहको समस्या विकराल बन्दै गएको छ। श्रीमानले दोस्रो विवाह गरेको भन्दै प्रहरीमा धाउने पीडित महिलाको संख्या हरेक महिना बढ्दै गएको छ।

चालु आर्थिक वर्षको पौष तेस्रो सातासम्म कैलालीका १४ महिला आफ्नै श्रीमान विरुद्ध बहुविवाहको उजुरी लिएर प्रहरीमा पुगेको तथ्यांक छ। घरमा श्रीमती हुँदाहुँदै अर्को विवाह गरेको भन्दै पीडित महिलाहरु उजुरी लिएर आउने गरेको प्रहरीले बताएको छ। चालु आर्थिक वर्षको साउनदेखि पौष तेस्रो सातासम्म मात्र जिल्ला प्रहरी कार्यालय कैलालीमा बहुविवाहका १४ मुद्दा दर्ता भएका छन्।

गत आर्थिक वर्ष २०७९र८० मा बहुविवाहका ३४ मुद्दा प्रहरीमा दर्ता भएको अभिलेख छ। घरमा श्रीमती र छोराछोरी हुँदाहुँदै पनि दोस्रो विवाह गर्ने समस्या जिल्लाभित्र बढ्दै गएको पाइएको छ। दोस्रो विवाह गर्नु कानुनी रुपमा अपराध मानिएपनि यस्तो कार्य भइनै रहेको छ।

नेपाली समाजमा रहेको एउटा कुरीति बहुविवाहलाई निरुत्साहित गर्ने भन्दै लागु भएको देवानी संहितामा दोस्रो विवाह स्वतः बदर हुने व्यवस्था गरिएको छ। झुक्याएर दोस्रो विवाह गरिएकी महिलाको विवाह बदर हुँदा उनले फेरि विवाह गर्ने स्थिति लगभग नरहने देखिएको छ। नयाँ कानुनमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेमा स्वतः बदर हुने प्रावधान राखिएको छ।

यस्तै बहुविवाह गरेको ठहर भएमा एकदेखि तीन वर्षसम्मको जेल सजाय हुन सक्ने उल्लेख गरिएको छ। उक्त कानुनले बहुविवाह गरेको ठहर भएका व्यक्ति सरकारी जागरिका लागि अयोग्य हुने स्पष्ट रूपमा उल्लेख गरेको छ। दोस्रो विवाह गरिएको थाहा भएको तीन महिनाभित्र उजुरी गर्नुपर्ने भन्ने पनि स्पष्ट उल्लेख गरिएको छ।

मुलुकी अपराध संहिता २०७४ मा विवाहित पुरुष वा महिलालाई बहुविवाह गर्न प्रतिबन्ध लगाइएको छ। यदि विवाह गरे त्यस्तो विवाह स्वतः बदर हुने व्यवस्था ऐनमा छ। मुलुकी देवानी संहिता ऐन २०७४ मा महिला र पुरुष दुवैको विवाह सम्बन्ध कायम नरहेको अवस्थामा मात्र विवाह हुन सक्ने व्यवस्था छ।

विवाहित पुरुषले आफ्नी पत्नी कानुनबमोजिम अंशबन्डा गरी भिन्न भएको अवस्थामा मात्र अर्को विवाह गर्न पाउँछ। यसलाई ख्याल नराखी बहुविवाह गर्ने पुरुष र विवाहित पुरुषसँग विवाह गर्ने महिलालाई एकदेखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

Dhangadhi 2081
Loading...