कैलाली : कैलालीमा शनिबारबाट पानीचराको गणना सुरु गरिएको छ । विश्व सिमसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा गणना भइरहेको हो ।
सिमसार क्षेत्रका चराको अवस्था पत्ता लगाई संरक्षणमा सहयोग पुयाउन गणना थालिएको बताइएको छ । चराको रङ, बनोट र आवाजसँग परिचित चराविज्ञ, नेचर गाइडले दूरबिन र वाइनाकुलरको माध्यमबाट गणना गर्ने गर्दछन् ।
पानीचरा पाइने क्षेत्र छुट्याएर पन्छी संरक्षणमा क्रियाशील समूह, संस्थालाई गणनाको जिम्मेवारी दिइएको छ । जलपन्छीहरूको अध्ययन गरेर उत्साहपूर्वक फेस्टिभल जस्तै मनाउने गरिएको पानी चरा गणना कार्यक्रमका राष्ट्रिय संयोजक डाक्टर हेमसागर बरालले बताए ।
कैलालीको घोडाघोडीसँगै कञ्चनपुरको शुक्लाफाँटामा पनि गणना गरिनेछ । गणनाको परिणामले चराको अवस्था पत्ता लगाउन, विवरण अद्यावधिक गर्न र समुदाय तथा सरोकारवालालाई संरक्षणसम्बन्धी नीति तथा कार्यक्रम बनाउन सहयोग पुग्नेछ ।
