एक वर्षको अवधिमा मानव बेचबिखनमा परेका २५ महिला तथा बालबालिकाको भारतबाट उद्धार

कञ्चनपुर : मानव बेचबिखनमा परेका २५ महिला तथा बालबालिकाको भारतबाट उद्धार गरिएको छ। माइती नेपाल कञ्चनपुरले एक वर्षको अवधिमा भारतका विभिन्न स्थानबाट बेचबिखनमा परेका २५ जना महिला तथा बालबालिकाको उद्धार गरेको हो।

भारतको पुनाबाट ६, मुम्बई र हिमाञ्चलबाट चार/चार, साङ्ग्ली र दिल्लीबाट तीन/तीन, पञ्जाव र पिथौरागढबाट दुई/दुई तथा गुजरातबाट एक गरेर २५ महिला तथा बालबालिकाको उद्धार गरिएको माइती नेपाल कञ्चनपुरकि संयोजक महेश्वरी भट्टले बताइन्।

Godawari_Badhi

उनका अनुसार विभिन्न प्रलोभनमा पारेर खुला सीमाको फाइदा उठाएर दलालले नेपाली चेलीलाई भारत लैजाने गरेका छन्। मानव बेचबिखन रोकथाम तथा नियन्त्रणमा खुला सीमा चुनौती बनिरहेको उनको भनाइ छ। माइती नेपालले नाका निगरानीका साथै उद्धार तथा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिरहेको उनले बताइन्।

एक वर्षको अवधिमा बेचबिखनको जोखिममा रहेका एक सय १८ जनालाई सीमा क्षेत्रबाट उद्धार गरिएको छ। माइती नेपालले बेचबिखनमा परेका र त्यसको जोखिममा रहेका महिला तथा बालबालिकाको उद्धार गरेर मनोसामाजिक परामर्श प्रदान गर्नुका साथै पारिवारिक पुनर्मिलन गराउने गरेको छ।

माइती नेपालले एक वर्षको अवधिमा एक सय ५२ जनालाई मनोसामाजिक परामर्श प्रदान गरेको छ। एक सय २७ जनाको पारिवारिक पुनर्मिलन गराइएको छ। माइती नेपालमा एक वर्षको अवधिमा खोजतलासका लागि एक सय ७१ निवेदन दर्ता भएका थिए। सोमध्ये ४९ जना भेटिएका छन्।

घरेलु हिंसाका ३२ निवेदन दर्ता भएकामा तीमध्ये १९ निवेदनउपर कारबाही भएको छ। एक वर्षको अवधिमा मानव बेचबिखनविरुद्ध तीन मुद्दा प्रहरीमा दर्ता गराएको छ।

Dhn Upamahanagarpalika_Badhi
Loading...