काठमाडौँ : सुदूरपश्चिम विश्वविद्यालयसहित तीन विश्वविद्यालय उपकुलपतिविहीन बनेका छन् ।
सुदूरपश्चिम, पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल सकिएपछि तीनै विश्वविद्यालय उपकुलपतिविहीन बनेका हुन् । सुदूरपश्चिम र पुर्वाञ्चल १८ फागुनमा र १७ फागुनमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल सकिएको थियो ।
सरकारले यी तीनै विश्वविद्यालयमा निमित्त उपकुलपति समेत तोकेको छैन । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारी संयोजकत्वको सुदूर तथा मध्यपश्चिम विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस प्रकृया स्थगित गरेको थियो ।
उपकुलपति छनोट तथा सिफारिसको लागि बनाइएको मापदण्ड विवादित बनेको भन्दै समितिले ६ फागुनमा स्थगित भएको प्रकृयाबारे अझै निर्णय गर्न सकेको छैन ।
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिसका लागि शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा बनेको समितिले छनोट तथा सिफारिसका लागि प्रकृया जारी रहेको जनाएको छ ।
