काठमाण्डौ : रुकुमपश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ३ ले विवाहको निमन्त्रणा कार्डमा बेहुला र बेहुलीको जन्ममिति अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
बालविवाह रोक्नको लागि निमन्त्रणा कार्डमै जन्म मिति उल्लेख गर्नुपर्ने व्यवस्था गरेको वडाध्यक्ष केशरमान विकले जानकारी दिनुभयो । वडामा गएको साउनपछि १० जोडीले बालविवाह गरेको तथ्याङक छ ।
जसमध्ये एक जोडीको विवाह वडा कार्यालयले रोकेको छ । वालविवाह रोक्नको लागि सचेतनामूलक लगायतका धेरै कार्यक्रम गरेपनि सफल नभएपछि निमन्त्रणा कार्डमा जन्ममिति अनिवार्य गरेको उहाँले बताउनुभयो ।
वडा भित्रकै जोडीको जन्ममिति वडामा रहेको जन्मदर्ता विवरणबाट खुल्ने र अरु पालिकाका बेहुला वा बेहुली भए पनि सम्बन्धित पालिकासँग समन्वय गरेर जन्मदर्ताको विवरण मगाउने गरेको वडाध्यक्ष बिकले बताउनुभयो ।
वडा कार्यालयले २०७५ सालको मङ्सिर १५ गतेदेखि जाँडरक्सी तथा चुरोटबिँडी बिक्रीवितरण तथा प्रयोगमा पनि रोक लगाएको छ ।
