बैतडी : बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौ भण्डारीगाउँका ४० वर्षीय सुरेन्द्रसिंह भण्डारीको भारतमा मृत्यु भएको छ ।
रोजगारीको सिलसिलामा भारतमा रहेका उनको खाडलमा डुबेर मृत्यु भएको हो । गत सोमवार साँझदेखि बेपत्ता रहेका भण्डारी मंगलवार खाडलमा डुबेको अवस्थामा मृत फेला परेका दशरथचन्द२ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए ।
निर्माणको काममा संलग्न रहेका उनी दुई महिना अघिमात्रै पिथौरागढको मुन्सीयारी गएका बताइएको छ । मृतक भण्डारीका श्रीमती, दुई छोरी र एक छोरा छन् ।
एक महिनाअघि मात्रै उनका सहोदर दाजु नरेन्द्र भण्डारीको पनि मृत्यु भएको थियो ।
