डडेल्धुरामा सुन चोर्ने दुई जना रौतहटमा पक्राउ

डडेल्धुरा : डडेल्धुरामा सुन चोरेको आरोपमा रौतहटबाट दुई जना पक्राउ परेका छन् । रौतहट चन्द्रपुर–९ बस्ने ४० वर्षीय सुरेन्द्र विश्वकर्मा र सप्तरी दुहबी नगरपालिका–४ बस्ने ४४ वर्षीय शंकर विश्वकर्मा पक्राउ परेका हुन् ।

उनीहरुलाई बिहीबार साँझ रौतहटको चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरमा बाटोमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका दुवै जनालाई डडेलधुराका इन्स्पेक्टर कुसुम नायकको जिम्मा लगाइएको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताए ।

इन्स्पेक्टर नायकका अनुसार डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित विजय साह सोनारको सुनचाँदी पसलमा गत १४ गते २० ग्राम सुन चोरी भएको थियो । उक्त घटनामा शंकर विश्वकर्माको संलग्नता देखिएको थियो ।

घटनाबारे अर्का आरोपी सुरेन्द्र विश्वकर्मालाई पूर्ण जानकारी हुँदा पनि प्रहरीलाई असहयोग गरेको कारण दुवैजनालाई पक्राउ गरिएको इन्स्पेक्टर नायकले बताए ।

दुवै जनालाई डडेल्धुरामा आवश्यक कारबाही गरिने बताइएको छ ।

Dhangadhi 2081
Loading...