डीआइजी केसीले गरे जिप्रका कञ्चनपुरको स्थलगत निरीक्षण, कुनै किसिमको दबाव र प्रभावमा नपरी अपराधी पक्राउ गर्न निर्देशन

धनगढी : सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) रबिन्द्र केसीले मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको स्थलगत निरीक्षण गरेका छन्।

उनले कार्यालय भवन, शाखाहरु, ब्यारेक, मेस तथा हिरासत कक्षको निरीक्षण गरेका हुन्। सो अवसरमा डीआइजी केशीले अपराध अनुसन्धान तथा नियन्त्रण कार्यमा कुनै किसिमको दबाव र प्रभावमा नपर्ने, वस्तुनिष्ठ र प्रबिधीमुखी अनुसन्धान कार्यमा जोड दिने बताएका छन्।

साथै फैसला कार्यान्वयन, पेण्डिङ मुद्दाको अनुसन्धान तथा फरार अपराधी पक्राउ कार्यलाई विशेष प्राथमिकता दिन मातहतका निकायलाई निर्देशन समेत दिएका छन्। सिमावर्ती अपराध र तस्करी नियन्त्रणमा शून्य सहनसिलताको नीति अपनाई उपलब्धीमुलक ढंगले कार्य गर्न, अबैध काठ नियन्त्रण, नियम विपरीत नदीजन्य पदार्थको उत्खनन् कार्यलाई कानूनको दायरामा ल्याउने, गुण्डागर्दी, जुवातास लगायतका सामाजिक अपराध नियन्त्रणमा कानूनी निर्ममताका साथ प्रस्तुत हुन सबै प्रहरी युनिटलाई निर्देशन दिएका छन्।

उनले लागूऔषध नियन्त्रण कार्यलाई महा–अभियानको रुपमा सञ्चालन गर्ने, प्रहरी आचरण विपरीतका कार्य नगर्ने, नेपाल प्रहरीको मिडिया नीति विपरित हुने गरि सामाजिक सञ्जाल प्रयोग नगर्ने, मानव अधिकार संरक्षणमा जोड दिदै नागरिकसँग सुमधुर एवं सम्मानजनक ब्यवहार गर्ने, हिरासतमा रहेका थुनुवा ओसारपसारमा भरपर्दो सुरक्षा प्रबन्ध मिलाउनुपर्ने उनको भनाई थियो।

सो अवसरमा डीआइजी केसीले गैर–ब्यवसायिक आर्थिक लाभको लागि कसैसँग साँठगाँठ र मिलोपतो नगर्ने, कुनै प्रहरी कर्मचारीहरुले गरेको पाइएमा कानूनी दायरामा ल्याइने, ब्यक्तिगत पिरमार्का गुनासाहरु नेपाल प्रहरी संगठनले तोके बमोजिमको विधि र प्रक्रिया अनुरुप अघि बढाउने, समन्वयात्मक, सहभागितामुलक र जनमुखी प्रहरी सेवामा समर्पित रहि उच्च अनुशासनका साथ त्रुटीरहित ढंगबाट कार्य गर्न निर्देशन दिएका छन्।

कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलिपसिंह देउवा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक राजिवबहादुर बस्नेत, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी लगायत जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अन्तरगतमा कार्यरत करिब तीन सय प्रहरी कर्मचारीको उपस्थिती रहेको थियो।

Dhangadhi 2081
Loading...