बैतडी : बैतडीमा अवैध काठको गोलिया र ट्रकसहित एकजना पक्राउ परेका छन्। पञ्चेश्वर गाउँपालिका–२ घर भएका ४० वर्षका लक्ष्मण चन्द अवैध सालको काठसहित पक्राउ परेका हुन्।
जिल्लाको मेलौली नगरपालिका–७ को हरिपुर बजारबाट चन्दसहित उनले चलाएको सुदूरपश्चिम प्रदेश ०२ ००१ ख १२१८ नम्बर ट्रकसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए।
ट्रकमा ५ थान गोलिया ओसारीरहेको बुझिएको छ। अवैध काठ ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा चन्दलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक जोशीले बताए।
ट्रक र ५ थान सल्लाको गोलियासहित नियन्त्रणमा लिइएका चन्दलाई आवश्यक कारवाहीका लागि सव डिभिजन वन कार्यालयमा बुझाइएको छ।
