परशुरामबाट फेरि आयो अर्को खबर, नगरपालीकाका कर्मचारी आन्दोलित, नगरले दिने सेवा समेत ठप्प

परिगाउँ : डडेल्धुराको परशुराम नगरपालिकाका कर्मचारी आन्दोलित भएका छन्। कार्यपालिका बैठकमै निमिक्त प्रमुख प्रशासकीय अधिकृत कुटिएपछि कर्मचारीहरु आन्दोलित भएका हुन ।

साथै उनीहरुले नगरले दिने सम्पुर्ण सेवा समेत ठप्प पारेका छन्। कर्मचारीहरुले आइतवार निधारमा कालोपट्टी बाँधेर अत्यावश्यक स्वास्थ्य उपचार सेवाबाहेक सम्पूर्ण सेवा अवरुद्ध पारेका हुन्।

गत बिहीवार निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कार्यपालिका बैठकमै कुटपिट भएको थियो। उपमेयर विमलाकुमारी बोहरा, वडा नम्बर ७ का वडाध्यक्ष कर्णबहादुर धामी र १ का वडाध्यक्ष लालबहादुर धामीले जोशीमाथि कुटपिट गरेपछि उनको टाउकोमा तीन टाँका लगाउनु परेको थियो।

परशुराम नगरपालिकाकी प्रशासकीय अधिकृत शोभा जोशीका अनुसार कार्यालय परिसरमा कर्मचारीहरू टाउकोमा कालोपट्टी बाँधेर विरोध जनाइरहेका छन्। प्रहरीले जाहेरीसम्म दर्ता नगरेको कर्मचारीको गुनासो छ।

नगर प्रमुख र उपप्रमुखले तत्काल छलफलमा बोलाएर सहमति गर्नुपर्ने कर्मचारीको माग छ।

Loading...