सुदूरपश्चिम प्रादेशिक महोत्सवको आयव्यय सार्बजनिक, झण्डै २४ लाख नाफा

टिकट बिक्री आम्दानी दोब्बरले बढ्यो

अत्तरिया : कैलालीको अत्तरिया उद्योग बाणिज्य संघले महोत्सवको आयव्यय सार्वजनिक गरेको छ । पुष २६ गतेदेखी माघ ६ गते सम्म अत्तरियामा सञ्चालन भएको सुदुरपश्चिम प्रादेशिक महोत्सवको आयव्यय विवरण सार्बजनिक गरेको हो ।

संघले आज (मंगलबार) पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवमा जम्मा ९० लाख ३० हजार ४ सय १० रुपैयाको कारोबार भएको जानकारी दिएको छ । संघका कोषाअध्यक्ष हेमराज भण्डारीले महोत्सवको खर्च कटाएर झण्डै २४ लाख बचत भएको बताए ।

२३ लाख ९८ हजार ७० रुपैया बचत भएको छ भने ५३ लाख ६८ हजार ५ सय ५० रुपैया टिकटबाट आम्दानी भएको छ । गत वर्ष आयोजना गरिएको महोत्सवमा संघले १० लाखको हाराहारीमा नाफा कमाए थियो भने गत वर्ष टिकट बिक्रीबाट २४ लाख ४४ हजार आम्दानी भएको थियो।

महोत्सवमा टिकट बिक्रीबाट हुने आम्दानी यसपाली भने दोब्बरले बढेको छ । विगतका बर्ष भन्दा यो बर्षमा सञ्चालन गरिएको महोत्सवबाट संघले राम्रो आम्दानी गरेको छ भने हरेक विवरणहरु प्रष्टरुपमा सार्वजनिक गरेको छ ।

महोत्सवमा ६६ लाख ३२ हजार ३ सय ४० रुपैया खर्च भएको छ । सबैभन्दा बढी १७ लाख ३८ हजार ८ सय कलाकारमा खर्च भएको छ । त्यस्तै १५ लाख ३५ हजार १ सय ३७ रुपैया अझै उठन बाँकी रहेको छ भने ५ लाख ८७ हजार २ सय ६१ रुपैया तिर्न बाँकि रहेको संघले जनाएको छ ।

संस्थाका बरिष्ठ उपाध्यक्ष दलबहादुर खड्काले महोत्सव सफल पार्ने सवैलाई धन्यवाद दिदै अहिलेको महोत्सव नयाँ कार्य समितिको लागि सिकाई भएको र अब बिगतको कमि कमजोरीलाई सच्चाएर अघि बढने बताए । नक्कली टिकट ठेली प्रकरणको बारेमा अनुसन्धान जारी रहेकाले अहिले नै केही बोल्न नसकिने उनको भनाई छ ।

पत्रकार सम्मेलनमा संघको कार्य समितिका १५ जना मध्ये ९ जनाको उपस्थिति रहेको थियो । संघका बरिष्ठ उपाध्यक्ष दलबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य बम बहादुर बोगटीले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव शंकर खड्काले गरेका थिए ।

Dhangadhi 2081
Loading...