अत्तरीया : मुटुरोगले थलिएकी कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ की कमला विष्टलाई सोमबार गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा भर्ना गरिएको छ । तीन वर्ष देखि मुटुरोगबाट पीडामा रहेकी कमलालाई गोदावरी नगरपालिकाकै एमाले नेता गोकर्ण भट्टको पहलमा सोमबार काठमाण्डौं पठाईएको हो ।
उनलाई सोमबार नै बासबारी स्थित गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा भर्ना गरिएको छ । काठमाण्डौंमा पूर्वमन्त्री लेखराज भट्टका स्वकीय सचिव हितेश ओझा सहितका युवाहरुले विष्टलाई अस्पताल भर्ना गराएका हुन । कमलाका श्रीमान तारा विष्ट ५÷६ वर्ष देखि बेपत्ता छन । क्षयरोगको औषधी खाँदा खाँदै ६ वर्ष अघि भारत जान्छु भनेर हिडेका उनी त्यसपछि घर फर्किएका छैनन ।
आफु विरामी अवस्थामै रहेका तारा विरामी श्रीमती छोडेर भारततिर लागेका हुन । अहिले कमलासँग १३ वर्षको छोरी रोशनी मात्रै छन । रोशनी दुुर्गा लक्ष्मी नमुना मा.वि.मा कक्षा ८ मा पढिरहेकी छिन । ८ को बोर्ड परिक्षा दिएर रोशनी आमा सँगै अस्पताल गएकी छिन । कमला थलिएको खबर थाहा पाएपछि भट्टले अत्तरीयामा आर्थिक संकलन अभियान सुरु गरेका थिए ।
देशविदेशबाट धेरै नेपालीहरुले कमलाको उपचारका लागि सहयोग गरेका छन । ‘छोरी रोशनीकै लागी भएपनि बाँच्ने रहर छ, भन्ने समाचारहरु देखेपछि म घरमै पुगे । आर्थिक अवस्था एकदमै कमजोर रहेछ । छोरीसँग परिक्षामा कलम किन्न पनि पैसा रहेन रहेछ’ । एमाले नेता गोकर्ण भट्टले भने, ‘छिमेकीहरुले चन्दा संकलन गरेर मुटुको औषधी किनि दिदा रहेछन । अनी यस्तो अवस्था देखेर उनको उपचारका लागि अभियान सुरु गरेका हौं’।
सोमबार सम्म कमलाको उपचारका लागि ३ लाख ८० हजार भन्दा बढी रकम संकलन भईसकेको छ ।
