नयाँ शैक्षिक सत्रका लागि सुदूरपश्चिममा किताब वितरण सुरू

धनगढी : सुदूरपश्चिम प्रदेशमा नयाँ शैक्षिक सत्रका लागि किताब वितरण सुरू गरिएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले मंगलबारदेखि किताबको वितरण सुरू गरेको हो ।

केन्द्रका प्रमुख रामबहादुर कुँवरले हिमाली जिल्ला बाजुराबाट पुस्तकको वितरण थालिएको जानकारी दिए । उनका अनुसार कार्यतालिका बनाएर केन्द्रमा सूचीकृत भएका व्यवसायीमार्फत सम्बन्धित जिल्लामा पुस्तक बिक्री, वितरण गरिने छ ।

प्रदेशका ९ जिल्लामा १९ लाख १५ हजार १८५ थान पुस्तक बिक्री, वितरण गर्ने लक्ष्य राखिएको कुँवरले बताए । जसमा सबैभन्दा धेरै कैलालीमा ६ लाख १४ हजार थान पुस्तक वितरण गरिने छ ।

कञ्चनपुरमा २ लाख ८९ हजार १५७, बैतडीमा १ लाख ७८ हजार ३६०, बझाङमा १ लाख ७७ हजार २१५, अछाममा १ लाख ६५ हजार ८३१, डोटीमा १ लाख ३७ हजार ६९२, बाजुरामा १ लाख २७ हजार ८०६, दार्चुलामा १ लाख २१ हजार र डडेल्धुरामा १ लाख ३ हजार ३१० थान पुस्तक वितरण गर्ने लक्ष्य कार्यालयले राखेको छ ।

विगतका वर्षमा समयमै पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ प्रभावित हुने गरेको भए पनि यो वर्ष त्यस्तो अवस्था नआउने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ ।

Dhangadhi 2081
Loading...