विशु पर्व नजिकिदै गर्दा भारतमा श्रम गर्न तथा अध्ययनको लागी पुगेका नेपाली घर फर्कन थाले, सुदूरका पाँच नाकाबाट भित्रिए ९७७ जना
धनगढी : नेपाल–भारतस्थित सुदूरपश्चिमसँग जोडिएका पाँच नाकाबाट तीन दिनमा ९ सय ७७ जना स्वदेश फर्किएका छन्। कैलालीको गौरीफन्टा, खग्रौला हेल्थ डेस्क, कञ्चनपुरको गड्डाचौकी, पुलघाट र जोलाजिबी नाका दार्चुला र जुलाघाट नाका बैतडीबाट तीन दिनमा ९ सय ७७ जना स्वेदश फर्किएका हुन्।
आइतबार जुलाघाट नाका बैतडीबाट २०, गौरीफन्टा नाका कैलालीबाट एक सय ४९, पुलघाट नाका दार्चुलाबाट ८ र खग्रौला हेल्थ डेक्स एक सय गरेर दुई सय ७७ जना भारतका विभिन्न सहरबाट सुदूरपश्चिम प्रवेश गरेका हुन्। यो संख्या सोमबार बढेको छ। सोमबार जुलाघाट नाका बैतडीबाट १७, गौरीफन्टा नाका कैलालीबाट तीन सय १८, पुलघाट नाका दार्चुलाबाट १० र हेल्थ डेस्क ४९ गरेर तीन सय ९५ जना स्वदेश फर्किएका हुन्।
हिजो (मंगलबार) पनि तीन सय ५ जना स्वदेश फर्किएका छन्। हिजो गड्डाचौकी नाका कञ्चनपुरबाट २१, जुलाघाट नाका बैतडीबाट ४, गौरीफन्टा नाका कैलालीबाट दुई सय १९, हेल्थ डेस्क ६१ गरेर तीन सय ५ जना भारतका विभिन्न सहरबाट सुदूरपश्चिम प्रवेश गरेका छन्। नयाँ वर्ष अर्थात सुदूरपश्चिमको मुख्य चाड विशु पर्व नजिकिदै गर्दा भारतका विभिन्न सहरमा श्रम गर्न तथा अध्ययनको शिलशिलामा पुगेकाहरु यतिबेला घर फर्कन थालेका छन्।
सुदूरपश्चिमबाट रोजगारीका लागि परिवारसहित गएकाहरु पनि यतिबेला विशुपर्व मनाउन आफ्नै गाउँघर फर्कन थालेका छन्। पछिल्लो केहिदिनयता विभिन्न सीमा नाका भएर स्वदेश फर्कनेको संख्या बढ्न थालेको पाइएको छ।
साथै सीमा नाकाबाट स्वदेश फर्कनेहरुको दैनिक रुपमा अभिलेख राख्ने काम हुँदै आएको छ।
