अत्तरिया : सुदूरपश्चिम प्रदेशमा गएको चार महिनाको अवधिमा १ सय ३३ वटा सवारीसाधन दुर्घटना हुँदा ५९ जनाको मृत्यु भएको छ भने १७५ जना घाइते भएका छन् । तीमध्ये गम्भीर घाइते भएका ११४ जना उपचाररत रहेका छन् ।
सुदूरपश्चिम प्रदेशमा २०८१ साउनमा तीन वटा बस, भदौमा दुई, असोजमा पाँच, कात्तिकमा तीन गरेर चार महिनामा १३ वटा बस दुर्घटना भएका छन् । यही अवधिमा माइक्रो पाँच वटा र आठ वटा बोलेरो जिपसमेत दुर्घटना भएका छन् ।
शुक्रबार बिहान ४ बजे दार्चुलामा जिप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भयो । उक्त दुर्घटनामा पाँच जना घाइते भएका छन् । दुर्घटना भएको जिपमा दार्चुलास्थित मालिकार्जुन मेलाको दर्शन गरेर घर फर्किंदै गरेका यात्रु सवार रहेका थिए । गएको असोज ३० गते डडेलधुरा बस दुर्घनामा बैतडी पुर्चौका एकै परिवारका चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । दसैँलगत्तै कञ्चनपुरबाट बैतडी आउँदै गरेको बस डडेलधुरामा दुर्घटना भएको थियो ।
सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये पहाडी क्षेत्रमा बढी दुर्घटना हुने गरेका छन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार दसैँका बेला गएको असोज महिनामा ५१ वटा सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन । घाइतेमध्ये ३६ जना गम्भीर छन । तिहारका बेला कात्तिक महिनामा ३४ वटा सवारीसाधन दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन । घाइतेमध्ये ३३ जनाको अवस्था गम्भीर रहेको प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले बताए ।
दुर्घटना हुने सवारीसाधनको प्रकृति अनुसार मोटरसाइकलपछि बढी दुर्घटना हुने सवारीसाधनमा बस, जिप, टेम्पो र माइक्रो रहेका छन् । सवारी दुर्घटनामा बर्सेनि ठुलो मानवीय क्षति भए पनि घटनाको गम्भीर छानबिन भने हुने गरेको छैन । तराईका जिल्ला र लामो दुरी काठमाडौँ चल्ने सवारीसाधन पुरानो भएपछि पहाडी जिल्लामा चल्ने गरेको पाइएको छ ।
