बझाङ : बझाङमा दुर्घटनामा परेर आमाको ज्यान गएको शोकमा विक्षिप्त छोरीको पनि मृत्यु भएको छ । गत शनिबार थलारा गाउँपालिका-९, आमबगरकी ४१ वर्षीया पञ्चमाला जोशीको बाटोमा हिँडिरहेका बेला सडकबाट खसेको ढुंगाले लागेर मृत्यु भएको थियो । आमाको मृत्युपछि २५ वर्षीया छोरी रोहिणी जोशीको पनि मृत्यु भएको हो ।
आमाको दुर्घटनाको खबर सुन्नेबित्तिकै धनगढीमा रहेकी रोहिणी आइतबार साँझ बझाङ पुगेकी थिइन् । उनले आमाको शव हेर्न निकै जिद्दी गरिन् । आमाको पार्थिव शरीर देख्नेबित्तिकै उनी बेहोस भइन् ।
‘बेहोस भएपछि स्वास्थ्यकर्मी बोलाएर घरमै उपचार गरायौं,’ आफन्त विश्वप्रकाश जोशीले भने, ‘स्लाइन पानी चढाएपछि केही बेर होसमा आएपनि फेरि बेहास भइहालिन् ।’ सोमबार दिउँसो बेहोस अवस्थामा जिल्ला अस्पताल चैनपुर लगे पनि अस्पताल पु¥याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेको जोशीले बताए।
