धनगढी : कैलालीको धनगढीमा ‘अत्याधुनिक बसपार्क’ निर्माण हुने भएको छ । धनगढी उपमहानगरपालिका-३ कालिकानगरदेखि पश्चिम क्षेत्रको खाली जग्गामा तीन सय गाडी अट्ने बसपार्क निर्माण गरिने भएको हो ।
नगर विकास कोषको ८० प्रतिशत र धनगढी उपमहानगरपालिकाको २० प्रतिशत गरेर झन्डै ८० करोडको लगानीमा ‘अत्याधुनिक बसपार्क’ निर्माण गर्ने भएको छ । धनगढीमा नयाँ निर्माण हुने बसपार्कमा तीन सय गाडीहरू अट्ने छन् । बसपार्कमा लामो दुरी, छोटो दुरी, नगर बस, अटो लगाएतका सवारी राख्न मिलनेसमेत ठाउँ तयार हुने छ ।
दुई तलाको भवनमा प्रतिक्षालयहरू, नेपाल प्रहरी, स्तनपान कक्ष तथा सामाजिक सुरक्षाका लागि समेत ठाउँ राखिएको छ । धनगढी उपमहानगरपालिकाले तयार पारेको तीन वटा विस्तृत योजना प्रतिवेदनमा ९६ करोडको स्वीकृत भएको हो ।
तर, लागत कम गर्न उपमहानगरपालिकाले माटो भरान तथा मोहना नदीमा तटबन्ध गर्ने भएको छ । धनगढी-३ का वडाध्यक्ष राजबहादुर ऐरले माटो भरानको काम उपमहानगरपालिकाले गर्ने र मोहनामा तट्बन्ध प्रदेश सरकारमार्फत गर्न लगाउने बताए । बसपार्कको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (आइई) को काम जारी रहेको छ ।
