अत्तरियामा ग्लोबल इन्स्टिच्युटको तीज मिलन कार्यक्रम, संस्कृतिसँगै सद्भावको सन्देश

अत्तरिया : ग्लोबल इन्स्टिच्युट अत्तरिया शाखाले नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।

दर खाने दिनको अवसर पारेर आयोजित कार्यक्रममा इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थी, शिक्षक–शिक्षिका लगायतको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले आपसमा शुभकामना आदानप्रदान गर्दै तीजको सांस्कृतिक महत्व र मौलिक परम्परालाई आत्मसात् गरेका थिए।

कार्यक्रमबारे जानकारी दिँदै संस्थापक विष्णु साउदले विद्यार्थीहरूको माग तथा तीजको अवसरमा आपसी शुभकामना आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले यस्ता कार्यक्रमले अध्ययनसँगै विद्यार्थीहरूलाई सामाजिक तथा सांस्कृतिक गतिविधिसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

त्यस्तै, संस्थापक बि.बि. भण्डारीले शुभकामना आदानप्रदान कार्यक्रमले आपसी सद्भाव, सहयोग र नेपाली सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउन योगदान पुग्ने बताए। उनका अनुसार संस्थाले शैक्षिक गतिविधिसँगै सामाजिक तथा सांस्कृतिक पक्षलाई पनि प्राथमिकता दिँदै आएको छ।

इन्स्टिच्युटकी प्रशिक्षिका लक्ष्मी सारु मगरले विगतदेखि नै यस्ता सांस्कृतिक तथा सामाजिक कार्यक्रम आयोजना गर्दै आएको बताइन्। उनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थी तथा शिक्षकबीचको सम्बन्ध थप आत्मीय बनाउनुका साथै मौलिक संस्कृतिको संरक्षण र पुस्तान्तरणमा समेत सहयोग पुर्‍याउँछ।

तीज पर्वलाई केवल दर खाने र मनोरञ्जन गर्ने पर्वका रूपमा मात्र नभई आपसी भेटघाट, आत्मीयता, सद्भाव र सांस्कृतिक पहिचानलाई जोड्ने अवसरका रूपमा स्थापित गर्नुपर्ने कार्यक्रममा सहभागीहरूको जोड थियो।

ग्लोबल इन्स्टिच्युटले आयोजना गरेको तीज मिलन कार्यक्रमले विद्यार्थी र शिक्षकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै शिक्षासँगै संस्कृति र सामाजिक सद्भावलाई जोड्ने सकारात्मक सन्देश दिएको छ।

Deep Jyoti Pustak psl
Loading...