अपी बेसक्याम्पमा क्रिकेट प्रतियोगिता, सुदूरपशिचमका मुख्यमन्त्री र शिक्षा तथा खेलकुद मन्त्रीले उद्घाटन गर्ने

धनगढी : समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा रहेको दार्चुलाको अपी हिमाल बेसक्याम्पमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। हिमाली पर्यटन प्रवर्द्धनलाई खेलकुदसँग जोड्ने उद्देश्यले आगामी कात्तिक १८ गते धनगढी – ११ र अपी – ११ बीच क्रिकेट खेल हुन लागेको हो।

अपिहिमाल गाउँपालिकाले कात्तिक १७ देखि १९ गतेसम्म आयोजना गर्न लागेको ‘अपी हिमाल पर्यटन उत्सव, २०८३’ अन्तर्गत उच्च हिमाली क्षेत्रको प्राकृतिक मैदानमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। सामान्यतया तराई तथा सहरी क्षेत्रका क्रिकेट मैदानमा देखिने खेल गतिविधिलाई हिमाली आधार शिविरसम्म पुर्‍याउने यस प्रयासले खेलकुदसँगै अपी क्षेत्रको पर्यटकीय सम्भावनालाई चर्चामा ल्याउने अपेक्षा गरिएको छ।

विश्वमा यसअघि पनि उच्च उचाइमा क्रिकेट प्रतियोगिता भएका छन्। गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार सन् २०१४ सेप्टेम्बर २६ मा तान्जानियाको किलिमन्जारो पर्वतमा समुद्री सतहबाट पाँच हजार ७५२ मिटर उचाइमा क्रिकेट खेलिएको थियो। त्यसअघि सन् २००९ अप्रिल २१ मा नेपालको सगरमाथा क्षेत्रस्थित गोरकशेपमा पाँच हजार १६४ मिटर उचाइमा ‘द एभरेस्ट टेस्ट’ आयोजना भएको थियो। यस आधारमा अपीको प्रस्तावित खेल विश्वकै उच्च स्थानको प्रतियोगिता नभए पनि सुदूरपश्चिममै पहिलो पटक हिमाली पर्यटन प्रवर्द्धनका दृष्टिले आयोजना हुनलागेको यो प्रतियोगिताले विशेष महत्त्व राख्ने देखिन्छ।

सात हजार १३२ मिटर अग्लो अपी हिमालको काखमा रहेको आधार शिविर प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, जैविक विविधता र साहसिक पदयात्राका लागि आकर्षक गन्तव्य हो । अपी – नाम्पा संरक्षण क्षेत्र अन्तर्गत पर्ने यस क्षेत्रको पिलकन्द मैदान, वरपरका हिमशृङ्खला, उच्च हिमाली पाटन र कालीढुङ्गा ताल लगायतका पर्यटकीय आकर्षणले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै आएका छन्।

यसै सम्भावनालाई व्यवस्थित पर्यटन विकाससँग जोड्ने उद्देश्यले गाउँपालिकाले तीनदिने उत्सव आयोजना गर्न लागेको हो । उत्सवमार्फत अपी हिमालको प्राकृतिक तथा सांस्कृतिक पहिचान प्रचारप्रसार गर्नुका साथै स्थानीय पर्यटन व्यवसाय, रोजगारी, आयआर्जन र ग्रामीण अर्थतन्त्रलाई टेवा पुर्‍याउने लक्ष्य राखिएको छ। गाउँपालिकाले यस वर्ष अपी क्षेत्रमा १० हजार पर्यटक भित्र्याउने लक्ष्यसमेत अघि सारेको छ।

प्रतियोगिताको आयोजनामा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम विकास समितिका अध्यक्ष एवं ‘क्रिकेटको सहर धनगढी’ अभियानका सूत्रधार सुवास बी. शाहीले सहकार्य गरेका छन्। उनले अपी हिमालको सुन्दर बेसक्याम्पमा क्रिकेटमार्फत पर्यटन प्रवर्द्धन गर्ने अभियानको हिस्सा बन्न पाउँदा गौरव महसुस भएको बताएका छन्।

“अपी हिमालको समुद्री सतहबाट करिब ४,००० मिटर उचाइमा रहेको सुन्दर बेस क्याम्पमा क्रिकेटमार्फत पर्यटन प्रवर्द्धन गर्ने ऐतिहासिक अभियानमा सहकार्य गर्न पाउँदा निकै गौरवान्वित महसुस भएको छ,” शाहीले भनेका छन्।

क्रिकेटलाई खेलमा मात्रै सीमित नराखी पर्यटन, आर्थिक विकास र क्षेत्रीय पहिचान सँग जोड्नुपर्नेमा उनको जोड छ। “क्रिकेट खेल मात्र होइन, पर्यटन प्रवर्द्धन, आर्थिक समृद्धि र हाम्रो पहिचानको सशक्त माध्यम पनि हो,” उनले भनेका छन्।

क्रिकेटको सहर धनगढीदेखि अपी हिमालको बेसक्याम्पसम्म खेलकुदको पहुँच विस्तार गर्दै सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसरका रूपमा उत्सवलाई लिनुपर्ने उनको भनाइ छ। शाहीले उत्सव सफल बनाउन खेलप्रेमी, पर्यटन व्यवसायी, युवा तथा सम्पूर्ण सुदूरपश्चिमवासीलाई सहभागी हुन आह्वानसमेत गरेका छन्।

यस्तै, अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले अपी क्षेत्रको पर्यटन विकास, प्रचारप्रसार र स्थानीय आर्थिक गतिविधि विस्तारलाई प्राथमिकतामा राखेर उत्सव आयोजना गरिएको बताएका छन्।

उनका अनुसार समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा रहेको अपी हिमाल बेसक्याम्पमा धनगढी–११ र अपी–११ बीच आयोजना हुने मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताले खेलकुदसँगै अपी क्षेत्रको पर्यटकीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

“अपीको पर्यटन विकास र प्रचारप्रसारका लागि यो उत्सव आयोजना गरिएको हो। उच्च हिमाली क्षेत्रमा आयोजना हुने मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताले अपीको पर्यटकीय सम्भावनालाई थप उजागर गर्ने विश्वास लिएका छौँ । अपी हिमाल पर्यटन उत्सव, २०८३ मा सहभागी भई यसलाई सफल बनाउन सबैलाई आग्रह गर्दछु,” अध्यक्ष बोहराले भनेका छन्।

गाउँपालिकाले खेलप्रेमी, पर्यटन व्यवसायी, स्थानीय बासिन्दा तथा सरोकारवाला सबैलाई उत्सवमा सहभागी भएर अपी हिमालको पर्यटन विकास र प्रचारप्रसारमा सहयोग गर्न आग्रह गरेको छ।

यस कार्यक्रमको प्रमुख अतीथिका रुपमा उद्घाटन सत्रमा सुदूरपशिच प्रदेश सरकारका मुख्यमन्त्री खगराज भट्ट र मैत्रीपूर्ण क्रीकेट प्रतियोगिताको उद्घाटन नेपाल सरकारका संघीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले गर्ने तय भएको गाउँपालिकाले पत्रकार सम्मेलन मार्फत जानकारी दीएको छ ।

यस अघि प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा अपी हिमाल बेसक्याम्पमा क्रिकेट खेलिरहेको दृश्यसहितको भिडियो साझा गरेपछि उक्त क्षेत्रले राष्ट्रीय तथा अन्ताराष्ट्रीय स्तरमा थप चर्चा पाएको थियो। प्रधानमन्त्रीको भिडियो सार्वजनिक भएपछि अपी हिमाल बेसक्याम्पप्रति पर्यटकको आकर्षण बढ्नुका साथै त्यस क्षेत्रमा पर्यटकको आवागमनसमेत वृद्धि भएको गाउँपालिकाले जनाएको छ।

Loading...