अत्तरिया: कैलालीको अत्तरिया हस्पिटल प्रालिले जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्राथमिक उपचार तथा आधारभूत जीवन रक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । गोदावरी नगरपालिका-२, अत्तरियास्थित अत्तरिया हस्पिटल प्रालिले आपतकालीन अवस्थामा बिरामी तथा घाइतेको ज्यान कसरी बचाउन सकिन्छ भन्ने विषयमा उक्त कार्यक्रम सञ्चालन गरेको हो ।
आइतबार हस्पिटलको आयोजनामा सम्पन्न कार्यक्रममा अत्तरिया क्षेत्रमा कार्यरत नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी तथा हस्पिटलका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा प्रशिक्षकका रूपमा डा. अंकुर घिमिरेले सहजीकरण गरेका थिए । अभिमुखीकरणका क्रममा डा. घिमिरेले आकस्मिक अवस्थामा मानिसको होस, सास र मुटुको धड्कन जाँच गर्ने तरिका, हृदयाघात तथा अन्य गम्भीर स्वास्थ्य समस्याका लक्षण पहिचान गर्ने उपाय र समयमै प्राथमिक उपचार उपलब्ध गराउने प्रक्रियाबारे व्यावहारिक जानकारी दिएका थिए ।
अभिमुखीकरणका क्रममा डा. घिमिरेले आकस्मिक अवस्थामा मानिसको होस, सास र मुटुको धड्कन जाँच गर्ने तरिका, हृदयाघात तथा अन्य गम्भीर स्वास्थ्य समस्याका लक्षण पहिचान गर्ने उपाय र समयमै प्राथमिक उपचार उपलब्ध गराउने प्रक्रियाबारे व्यावहारिक जानकारी दिएका थिए ।
विशेषगरी कुनै व्यक्तिको मुटुको धड्कन बन्द भएको वा सास फेर्न नसकेको अवस्थामा कसरी तत्काल जीवन रक्षा गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिइएको थियो । छाती थिच्ने सही तरिका, छाती कति छिटो र कसरी थिच्ने, आपतकालीन अवस्थामा अपनाउनुपर्ने सावधानी तथा बिरामीलाई अस्पताल पुर्याउनुअघि गर्नुपर्ने प्राथमिक उपचारका विषयमा समेत सहभागीलाई जानकारी गराइएको थियो ।
कार्यक्रमले दुर्घटना, हृदयाघात तथा अन्य आकस्मिक स्वास्थ्य समस्याका बेला सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई तत्काल उचित कदम चाल्न सक्षम बनाउने अपेक्षा गरिएको छ । आपतकालीन अवस्थामा सही समयमा गरिने सामान्य प्राथमिक उपचारले समेत मानिसको अमूल्य जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले यस्ता कार्यक्रम उपयोगी हुने विश्वास गरिएको छ ।
हस्पिटलका सञ्चालक डिल्ली राज पाठकको संयोजनमा आयोजित कार्यक्रममार्फत अत्तरिया हस्पिटलले उपचार सेवासँगै स्वास्थ्य सचेतना, जनस्वास्थ्य प्रवर्द्धन तथा समुदायमा जीवन रक्षा सम्बन्धी ज्ञान विस्तारलाई समेत प्राथमिकता दिएको सन्देश दिएको छ ।
अत्तरिया क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको अत्तरिया हस्पिटलले बिरामीको उपचार मात्र नभई स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि र आपतकालीन स्वास्थ्य सेवाको महत्वबारे समुदायलाई सचेत गराउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिनु आवश्यक रहेको जनाएको छ ।
समुदायमै प्राथमिक उपचार र जीवन रक्षा सम्बन्धी सीपको विकास गर्न सके आकस्मिक दुर्घटना तथा स्वास्थ्य समस्याका बेला धेरैको ज्यान जोगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।