काठमान्डुलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा

काठमाडौं : सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा काठमान्डु गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफको टिकट काटेको हो ।

योसँगै सुदूरपश्चिम प्लेअफमा पुग्ने दोस्रो टोलि बन्यो । यसअघि दुवै संस्करणमा उपविजेता बनेको सुदूरपश्चिम लगातार तेस्रो पटक प्लेअफमा पुगेको हो । पराजित काठमान्डुको प्लेअफ सम्भावना कायमै छ । ७ खेल खेलेको सुदूरपश्चिम १० अंकका साथ तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

एक खेल खेल्न बाँकी रहेको काठमान्डु ८ अंकका साथ तेस्रो स्थानमा छ । सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमान्डुले २० ओभरमा ७ विकेट गुमाएर ११८ रनमात्रै बनायो ।

Dhangadhi_Tihar 2083

राशिद खानले अविजित ३५ रन जोड्दा दुशान हेमन्तले २१ रन बनाए । साम हिजलेटले ११ तथा सन्तोष यादवले १० रन बनाउँदा काठमान्डुका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

काठमान्डुलाई रोक्न अनिल खरेलले दुई तथा फाबियन एलेन, स्कट कुगलेइन र हेमन्त धामीले एक एक विकेट लिए । त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेटको क्षतिमा १२५ रन जोड्यो ।

सुदूरपश्चिमको सुरुवात निकै खराब रह्यो । ओपनर स्कट कुगलेइनले ६ रन बनाउँदा विनोद भण्डारीले १ रनमात्रै जोडे । त्यसपछि ब्याटिङमा आएका ब्रेन्डन म्याकमुलेन र ईशान पाण्डे खाता समेत खोल्न नसकी शून्य रनमै पभेलियन फर्किए । दुवैलाई काठमान्डुका बलर सन्तोष यादवले आउट पारे ।

पाँचौ नम्बरमा ब्याटिङमा आएका कप्तान दीपेन्द्र सिंह ऐरी र छैटौंमा आएका आरिफ शेखले सुदूरपश्चिमको इनिङ्स सम्हाले । तर, शेख रनआउट भएपछि सुदूरपश्चिम फेरि समस्यामा आयो । शेखले २५ बलमा १६ रनमात्रै बनाए ।

कप्तान ऐरीले अर्धशतकीय पारी खेले । उनले ६० रनको योगदान दिए । यस्तै, थरिन्दु रत्नायकेले नटआउट २६ रन जोडे । बलिङतर्फ काठमान्डुका जहानदाद खानले तीन तथा सन्तोष यादवले दुई विकेट लिए ।

Loading...