कैलालीमा खेत जोत्ने क्रममा ट्याक्टरबाट खसेर ७ वर्षीय बालकको मृत्यु

धनगढी : कैलालीमा ट्याक्टरबाट खसेर रोटाभेटरमा परी एक बालकको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका-८ लिम्कामा शुक्रबार आफ्नै खेत जोत्ने क्रममा ट्याक्टरबाट खसेर ७ वर्षीय सुशान्त चौधरीको मृत्यु भएको हो ।

Dhangadhi_Tihar 2083

प्रहरीका अनुसार दिउँसो करिब १ः५० बजे सुशान्तका बुवा ३७ वर्षीय खडकबहादुर चौधरीले से २ त ३६७२ नम्बरको ट्याक्टरले खेत जोतिरहेका थिए । सोही ट्याक्टरमा सवार सुशान्त अचानक खसेर पछाडिको भागमा जोडिएको रोटाभेटरमा परेका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि आफन्तले बालकको शव घरमा ल्याएका थिए । प्रहरीले ट्याक्टर र चालक खडकबहादुरलाई नियन्त्रणमा लिएको छ। ट्याक्टरका साहु ४० वर्षीय खुसीराम चौधरी प्रहरीको सम्पर्कमा रहेको जनाइएको छ ।

घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब उपरीक्षक हिरासिंह महराको कमान्डमा टोली घटनास्थल पुगेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...