अत्तरिया : कैलालीको अत्तरियामा रहेको मानाङ्क बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बिच संस्थाको १३औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष वेदप्रकाश पाण्डेयको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्ट रहेका थिए । कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघकी केन्द्रिय सञ्चालक समिति सदस्य दिप्ती शाही, नगरपालिकाका सहकारी शाखा प्रमुख दिव्यराज जोशी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहकारीको वार्षिक प्रतिवेदन सहकारीका अध्यक्ष वेद प्रकाश पाण्डेले प्रस्तुत गरेका थिए भने संस्थाको आर्थिक प्रतिवेदन संस्थाका लेखासमिति संयोजक हरिदत्त भट्टराईले प्रस्तुत गरेका थिए। कार्यक्रममा संस्थाको लेखापरिक्षण प्रतिवेदन मुख्य प्रबन्धक प्रकाश कुमार जोशीले प्रस्तुत गरेका थिए ।
लेखापरिक्षण प्रतिवेदन अनुसार संस्थाको जगेडा तथा अन्य कोषको रकम आर्थिक वर्ष २०७९/०८० को तुलनामा बराबरी नै छ । उक्त आर्थिक वर्षमा संस्थाको उक्त कोषहरुको रकम १ करोड ३२ लाख ३१ हजार ७३७ रहेकामा आर्थिक वर्ष २०८०/०८१ मा थोरै बढेर १ करोड ३२ लाख ३२ हजार १८८ रुपैया पुगेको छ । संस्थाको बचत रकम भने बढेको देखिएको छ ।
संस्थाको बचत आर्थिक वर्ष २०७९/०८० मा १० करोड १६ लाख ९५ हजार ८२० रहेकोमा आर्थिक वर्ष २०८०/०८१ मा बढेर ११ करोड ४ लाख ४६ हजार ७०२ पुगेको छ । संस्थाले उक्त आर्थिक वर्षको तुलनामा बाह्य ऋणलाई भने केही घटाएको छ । उक्त आर्थिक वर्षमा ४ करोड ८९ लाख ५१ हजार १८४ रुपैया बाह्य ऋण रहेकोमा संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा घटाएर ४ करोड ५० लाख ९५ हजार ८८ पुर्याएको छ । संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा २ करोड २८ लाख ७० हजार ९४७ रुपैया तरलता राखेको छ भने १९ लाख २८ हजार २८१ रुपैया नाफा आर्जन गर्न सफल भएको छ । यस्तै साधारण सभाको अवसरमा सहकारीले विभिन्न क्षेत्रका उत्कृष्टहरुलाई सम्मान गरेको छ । सहकारीले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी एवम् उत्कृष्ट शेयरसदस्यहरुलाई सम्मान गरेको छ ।
२०६८ सालमा २६ जनाको १ लाख २५ हजार शेयर पुँजीबाट सुरु भएको सहकारीको हाल २ करोड ३१ लाख ४६ हजार ६ सय शेयरपुँजी रहेको छ । संस्थाले हाल अत्तरियामा आफ्नै भवन निर्माण गरेको छ । जहाँ उक्त संस्थाको केन्द्रिय कार्यालय रहेको छ । भाडाको घरमा सञ्चालनमा रहेको सहकारीले गत आर्थिक वर्षमा १ करोड ३७ लाख खर्च गरेर अत्तरियाको रिङ्ग रोडमा नयाँ भवन खरिद गरेको थियो । संस्थाले केन्द्रिय कार्यालय सहित अत्तरियाको महेन्द्रनगररोडमा र गेटामा सेवा केन्द्रहरु सञ्चालनमा ल्याएर सेवा दिदै आईरहेको छ ।
उक्त सहकारी राष्ट्रिय सहकारी बैंक लिमिटेडको २०औ वार्षिक साधारण सभाबाट उत्कृष्ट प्रादेशीक सदस्यबाट सम्मानित समेत भएको थियो । सहकारी बैंकले आफ्ना शेयर सदस्य सहकारीहरुमध्येबाट बचत तथा ऋण कारोबार गर्ने सुदूरपश्चिमकै उत्कृष्ट सहकारीका रुपमा मानाङ्कलाई सम्मान गरेको हो ।
