बैतडी : बैतडीको पाटन नगरपालिका-९ स्थित ज्ञानेश्वर माविमा अध्ययनरत एक विद्यार्थीको निस्सासिएर मृत्यु भएको छ ।
सुर्नया गाउँपालिका-५ घर भई हाल ज्ञानेश्वर माविमा प्राविधिक धारतर्फ कक्षा ९ मा अध्ययनरत १४ बर्षीय अपिल बिष्टको निस्सासिएर मृत्यु भएको विद्यालयका सहायक प्रधानाध्यापक धनबहादुर महराले बताए ।
डेरामा बस्दै आएका बिष्ट शुक्रबार राति खाना खाएपछि कोठामा सुत्न गएका थिए । एक्लै कोठामा बस्दै आएका उनले टिनको भाँडोमा आगोको कोइला समेत लगेर गएका र राति उनी निस्सासिएर मृत्यु भएको हुन सक्ने बताइएको छ ।
शनिबार बिहान बिष्ट नउठेपछि उनले बस्दै आएको कोठाको ढोका फोडेर उनलाई अचेत अवस्थामा फेला पारिएको थियो । तत्कालै उनलाई उपचारका लागि डडेल्धुरा अस्पातल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको सहायक प्रधानाध्यापक महराले बताए ।
यसैबीच विद्यालयमा अध्ययनरत छात्रको असमायिक निधन भएपछि ज्ञानेश्वर माविले आइतबार शोक बिदा दिएको छ ।