अछाम : अछामको मंगलसेन नगरपालिका-६ की ८० वर्षीय वृद्धाले नागरिकता पाएकी छन् । भूमिसरा भण्डारीले ८० वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी हुन् ।
नेपालको कानुनमा १६ वर्षमा नागरिकता प्राप्त गर्ने प्रावधान रहेको छ । तर, भण्डारीले ८० वर्षको उमेरमा नागरिकता पाएकी हुन। अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले भन्डारीलाई नागरिकताको प्रमाणपत्र दिएका छन् ।
सानै उमेरमा विवाह गरेर श्रीमानसँगै रोजगारीको सिलसिलामा भारत गएकी उनको ८० वर्षको उमेरपछि मात्रै माइती पत्ता लागेको थियो ।
माइती पत्ता लागेपछि माइतीको तर्फबाट आवश्यक कागजात सङ्कलन गरेर नागरिकता दिइएको हो । वृद्ध अवस्थामा नागरिकता पाएको भन्दै उनले खुसी व्यक्त गरेकी छन् ।