अत्तरिया पुग्यो बाजुराको प्याज,प्रदेश सरकारको सहयोगमा बजारीकरण

प्याज अनुगमन गर्न अत्तरिया पुगे कृषि मन्त्री चौधरी

अत्तरिया : बाजुरामा उत्पादन भएको प्याज कैलालीको अत्तरिया पु–याइएको छ । जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकामा उत्पादन भएको प्याज बिक्री नभएपछि कृषि ज्ञान केन्द्र बाजुराको सहयोगमा भण्डारण गरिएको प्याज प्रदेश सरकारको सहयोगमा कैलालीको अत्तरिया बजार सम्म पु–याइएको हो ।

स्वामीकार्तिक गाउँपालिकाको बाहुन गाउँमा उत्पादन भएको प्याज बिक्रिका लागि मंगलबार अत्तरिया स्थीत कृषि थोक उपज बजारमा पु–याइएको छ । सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा कृषि ज्ञान केन्द्र बाजुरा तथा स्वामीकार्तिक गाउँपालिका र बडीमालीका नगरपालिकाले बजारीकरण तथा प्रर्वद्धनका लागि सहयोग गरेका हुन् भने स्वामीकार्तिक खापर गाउँपालिकामै रहेको कार्तिक स्वामी बहुउदेश्यीय सहकारी सँस्थाले संकलनका लागि सहयोग गरेको छ ।

कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख मीन बहादुर जैशीले स्वामिकार्तिक खापर गाउँपालिकाको वडा नम्बर १ मा २ सय क्युन्टल प्याज उत्पादन भएको बताए । उनले उत्पादन भएको प्याज मध्ये १ सय क्युन्टल कृषि ज्ञान केन्द्रले निर्माण गरेको भण्डारण गृहमा राखिएकोमा मंगलबार प्रदेश सरकारको सहयोगमा करिब ४५ क्युन्टल प्याज अत्तरिया पु–याइएको बताए । उनले सडक सुविधा नभएका कारण प्याज ढुवानी समयमा गर्न नपार्ईएको बताए । उक्त प्याजको किसानले ४५ रुपैयाँ पाउने कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जैशीले बताएका छन् ।

प्याज उत्पादन हुने सिजनमा वर्षाका कारण ग्रामिण सडकहरु बिग्रीएपछी लामो समय प्याज कोल्ड स्टोरमा राख्न नमिल्ने भएकाले प्याजका लागि छुटै प्रकारको भण्डारण गृह बनाइएको उनले बताए । उनले भण्डारण गृहमा प्याज खेती गर्ने कृषक समुहमा आवद्ध ४० जना किसानको प्याज निःशुल्क रुपमा भण्डारण गरिएको बताएका छन् । भारतको नासिकबाट आउने प्याज भन्दा बाजुराको प्याज कयौं गुणा राम्रो भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जैशीको भनाई छ ।

बाजुराबाट मंगलबार प्याज अत्तरियामा रहेको कृषि थोक उपज बजारमा ल्याईएपछि सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री रामेश्वर चौधरी पनि अनुगमनामा पुगेका थिए । उनले प्याज बजारीकरणमा प्रदेश सरकारको सहयोग रहने बताएका छन् । स्थानीय उत्पादनका लागि सुदूरपश्चिममा बजारीकरणको समस्या नभएको बताउदै उनले सहजरुपमा बजारीकरण गर्न ज्ञान केन्द्रलाई पनि निर्देशन दिएको बताए ।

केही दिन अगाढी पहाडी जिल्लामा उत्पादन भएको बन्दा र स्याउलाई प्रदेश सरकारको अनुदान सहयोगमा अत्तरिया र धनगढीका बजार सम्म पु¥याइएको उनले बताए । पहाडी जिल्लामा व्यवसायी रुपमा तरकारी, फलफूल उत्पादन गर्न उनले आग्रह गरे । स्थानीय स्तरमा उत्पादन हुने कृषिजन्य सामग्री स्वस्थ तथा अर्गानिक हुने भएकोले बिक्रि तथा उपभोग गर्न पनि उनले आग्रह गरेका छन् । मन्त्री चौधरीले प्रदेश सरकार कृषिका सम्भावनाको बारेमा गहिरो अध्ययन गरिरहेको बताएका छन् ।

सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. मदन सिंह धामीले किसानका उत्पादन आकस्मिक रुपमा ढुवानी गर्नकै लागि बजेटको व्यवस्था गरिएकाले सोही रकमबाट प्याजको ढुवानी गरिएको बताए । उनले मूल्य शृङ्खलाका जटिलतामा प्रदेश सरकारले सहकार्य गर्ने गरेको बताए ।

त्यस्तै सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका मन्त्री रामेश्वर चौधरीले अत्तरियामा रहेको धनगढी दुग्ध वितरण आयोजनाको पनि अनुगमन गरेका छन् ।

Loading...