काठमाडौँ : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको खेलाडी अक्सन आज (शनिबार) हुँदैछ।
नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार गत असार २८ देखि साउन ६ गतेसम्म खुलेको दर्ता प्रक्रियामा ४५८ खेलाडीले नाम दर्ता गराएका थिए। प्राविधिक छनोटपछि अन्तिम सूचीमा परेका १५० खेलाडी अक्सनमा सहभागी हुँदैछन्।
अक्सन ललितपुरको ग्वार्कोस्थित रोयल ट्युलिपमा हुनेछ, जहाँ ८ फ्रेन्चाइज टोलीहरूले आफ्नो बजेट र आवश्यकता अनुसार खेलाडी छान्नेछन्।
अक्सनका लागि ८ खेलाडी ‘ए’ श्रेणीमा, ३५ ‘बी’ श्रेणीमा र १०७ ‘सी’ श्रेणीमा परेका छन्।
‘ए’ श्रेणीः मोहम्मद आदिल आलम, सुनाम गौतम, सूर्य तामाङ, शरद भेषवाकर, पवन सर्राफ, देव खनाल, दिलीप नाथ र अर्जुन साउद।
मूल्य दायराः ‘ए’ श्रेणीमा १०–१५ लाख, ‘बी’ मा ५–१० लाख, र ‘सी’ मा २–५ लाख रुपैयाँ।
सर्वोच्च रकम बोली लगाउने टोलीले खेलाडी अनुबन्ध गर्नेछ। तर एउटै मूल्यमा दुई वा बढी टोली तयार भएमा गोला प्रथाबाट टुङ्गो लगाइनेछ।