बैतडी : बैतडीको सुर्नया गाउँपालिकाले राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर सञ्चालन गरेको छ । गाउँपालिका भित्रका ३ स्थानमा सञ्चालन गर्ने गरी बिहिबार देखी गाउँपालिकाले शिविर सञ्चालन गरेको हो ।
बिहिबारदेखी शुक्रबार सम्म गाउँपालिकाको कार्यालयमै शिविर सञ्चालन हुने एक सूचना जारी गर्दै गाउँपालिका कार्यालयले जनाएको छ । उक्त शिविरमा गाउँपालिकाको वडा नं. ५ तथा अन्य वडाहरुले सेवा लिन सक्ने बताईएको छ । यस्तै भाद्र २१ गते शनिबार र २ गते आईतबार गाउँपालिकाको वडा नं. ६ को कार्यालय शंकरपुरमा शिविर आयोजना गरिने सूचनामा उल्लेख छ ।
गाउँपालिकाले निकालेको सूचना अनुसार सो शिविरमा वडा नं. ६, ७ र ८ का वडाबासीहरुले सेवा लिन सक्नेछन् । यसैगरी भाद्र २३ गते सोमबार र २४ गते मंगलबार गाउँपालिकाको वडा नं. ४ को कार्यालय फाटिगडामा शिविर आयोजना गरिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत धन बहादुर चन्दले बताए ।
उक्त शिविरमा वडा नं. ३ र ४ का वडाबासीहरुले सेवा लिन सक्ने उनले बताए । राष्ट्रिय परिचय पत्र बनाउन छुटेका ज्येष्ठ नागरिक, अशक्त, असहाय व्यक्तिहरुका लागि शिविरको आयोजना गरिएको चन्दले बताए । जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा पालिकामै शिविर सञ्चालन गरिएको बताईएको छ ।
