धनुषा : जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी महामहोत्सव आज (बिहीबार)देखि नगरदर्शन कार्यक्रमसँगै सप्ताहव्यापी धार्मिक पर्व औपचारिक रूपमा शुरु हुँदैछ । सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकी मन्दिर व्यवस्थापन पक्षले जनाएको छ ।
जानकी मन्दिर क्षेत्र, रङ्गभूमि मैदान तथा बाह्रबिघा परिसरमा सरसफाइदेखि आकर्षक पण्डाल निर्माणसम्मका काम तीव्र गतिमा भइरहेका छन् । मन्दिर वरपरका गल्ली, मठमन्दिरहरूमा पनि विद्युत् बत्ती जडानका काम भइरहेका छन् ।
विवाह पञ्चमीका मुख्य कार्यक्रम जानकी मन्दिर र बाह्रबिघा रङ्गभूमि मैदानमै केन्द्रित रहनेछन्, तर यो वर्ष कुनै पनि तहको सरकारले सहयोग नगरेको मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताए । विगतका वर्षहरूमा सरकारी निकायले आर्थिक वा व्यवस्थापकीय सहयोग गर्ने गरेकामा योपटक भने सहयोग नपाइएको उनको भनाइ छ ।
अयोध्या, ऋषिकेश, हरिद्वारसहित भारतका विभिन्न धार्मिक केन्द्रहरूबाट यो वर्ष पनि ठूलो सङ्ख्यामा साधु-सन्त, महन्त, योगी, सन्यासी, भिक्षु र भिक्षुणीको आगमन हुने जानकी मन्दिरले जनाएको छ । जनकपुरधामलाई मिथिलाञ्चलको साँस्कृतिक राजधानीका रूपमा चिनाउने यो महोत्सव वर्षौँदेखि नेपाल-भारत धार्मिक सम्बन्ध मजबुत गर्ने प्रमुख माध्यम रहेको छ ।
सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सवको बिहीबार नगरदर्शन, शुक्रबार फूलबारी लिला, ६ गते धनुषयज्ञ, ७ गते तिलकोत्सव, ८ गते मटकोर, ९ गते स्वयंवर तथा विवाह र १० गते रामकलेवा विधिसहित समापन हुनेछ । प्रत्येक वर्ष मार्गशीर्ष शुक्लपक्ष पञ्चमीको तिथिमा मनाइने यो पर्वमा नेपाल र भारतका विभिन्न स्थानबाट लाखौँ भक्तजन जनकपुरधाम आउने गर्छन् । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार विवाह पञ्चमीलाई लक्षित गरी सुरक्षा योजना कडा पारिएको छ ।
