अत्तरिया : कैलालीको अत्तरियामा सञ्चालन भईरहेको ‘सृजनशील गोदावरी साँस्कृतिक महोत्सव २०८२’ सम्पन्न भएको छ । न्यु सृजनशील युवा क्लबको आयोजनामा पुस ९ गते देखि सुरु भएको महोत्सव १३औं दिनमा सोमबार सम्पन्न भएको हो । क्लबका अध्यक्ष नर बहादुर राईको सभापतित्वमा आयोजित समापन कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टी एन जोशी प्रमुख अतिथि रहेका थिए ।
महोत्सवको समापन सत्रमा बोल्दै क्लबका अध्यक्ष नर बहादुर राईले १३ दिनसम्म चलेको महोत्सव सभ्य र भव्य रूपमा सम्पन्न भएको बताउदै महोत्सव सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यावाद ज्ञापन गरे । क्लबले बिचमा ब्रेक लिएपछि पुनः नयाँ ढङ्गबाट नयाँ उत्साहका साथ सञ्चालनमा ल्याएको सृजनशील गोदावरी सांस्कृतिक महोत्सवलाई सबैले सहयोग गरेको र महोत्सव अवधिभर दर्शकहरूको पनि उल्लेख्य साथ पाएको उनले बताए । यसपालिको महोत्सवले आगामि दिनमा पनि महोत्सव सञ्चालन गर्नका लागि जोस जाँगर र हौसला प्रदान भएको बताउदै उनले अर्को वर्ष भेट हुने बाचा गरे । उनले महोत्सवको प्रत्येक टिकटबाट ५ प्रतिशत असहाय बालबालिका र महिलाहरूका लागि छुट्टाएको बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि डा. टी एन जोशीले अत्तरियामा क्लबले भव्य महोत्सव आयोजना गरेकोमा क्लबलाई धन्यावाद ज्ञापन गर्दै उनले सबै पक्षलाई मिलाएर कुशलता पूर्वक महोत्सव सम्पन्न गरिएको बताए । उनले महोत्सवले यस क्षेत्रको कला, संस्कृतिको संरक्षणका महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । समापन कार्यक्रममा बोल्दै युवा नेता लोक राज पाण्डेय (आगो) ले महोत्सव आयोजना गर्नका लागि निमार्ण गरिएको मञ्च अत्तरियाले सधैँका लागि खुला मैदान पाएको बताए । उनले अब यसको संरक्षणमा गरेर सृजनशीले खेल मैदान नामकरण गरिनुपर्ने बताएका छन् ।
अत्तरियामा पहिलो पटक न्यु सृजनशील युवा क्लबलेनै २०६७ सालमा महोत्सव आयोजना गरेको थियो । २०६७ सालदेखि २०७१ साल सम्म अत्तरियामा महोत्सव आयोजना गर्दै आएको न्यु सृजनशील युवा क्लबले २०७२ सालमा अत्तरिया उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेको थियो । २०७२ देखि २०८० सम्म भने अत्तरिया उद्योग वाणिज्य संघले अत्तरियामा ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ आयोजना गरेको थियो । उद्योग वाणिज्य संघमा भएको आन्तरिक विवादका कारण संघले महोत्सवलाई निरन्तरता दिन नसकेपछि फेरि क्लबले यस वर्ष नयाँ व्यवस्थापनका साथ ‘सृजनशील गोदावरी सांस्कृतिक महोत्सव २०८२’ आयोजना गरेको हो ।
स्थानीय कला,संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव अत्तरियाको पूर्वरोडस्थित सुरक्षा सामुदायिक वनको खुल्ला चौरमा सञ्चालन भएको थियो । महोत्सवमा १८० स्टल रहेका छन् भने विभिन्न सांस्कृतिक कार्यक्रम, थारु गाउँ प्रदर्शनी, स्थानीय उत्पादनको प्रदर्शनी तथा मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिएका छन् । महोत्सव अवधिभर विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूले आफ्ना प्रस्तुति राखेका थिए ।