अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-४ स्थित बुढीतोलामा पर्यटन महोत्सव आजदेखि सुरु हुँदैछ । बुढीतोला क्षेत्र पर्यटन प्रर्वद्धन तथा बजार व्यवस्थापन समितिले आजदेखी बुढीतोलामा महोत्सव आयोजना गर्न लागेको हो ।
महोत्सवको बिहान ११ बजे गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले जानकारी दिएको छ । उद्धघाटन अघि बुढीतोला बजारमा विभिन्न झाँकीहरुका साथ प्रभातफेरी गरिने बताइएको छ ।
महोत्सवको तयारी अन्तिम चरणमा पुगिसकेको र बिहिबार बिहान ११ बजे समुद्घाटन हुने महोत्सव मुल आयोजक समितिका संयोजक हरिदत्त भट्टराईले जानकारी दिए । उनले महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने बताए ।
वैशाख २३ गतेसम्म लाग्ने महोत्सवमा एलिना चौहान, पुष्कल शर्मा, ज्योती मगर,चक्र बम, टंक तिमल्सिना, कमल विरही लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने संयोजक भट्टराईले जानकारी दिए ।
महोत्सवमा रमाईलो मेलाहरुका साथै बुढीतोला क्षेत्रका स्थानियहरुको स्वास्थ्य अवस्था चेकजाँच गर्नका लागि नेपालीसेनासँगको सहकार्यमा स्वास्थ्य शिविर पनि रहने छ । महोत्सवमा सुदूरपश्चिमका मौलिख नौमती बाजा, मारुनी नाँच, हुड्केली लगायतका नृत्यहरुको पनि प्रर्दशन रहने आयोजकले बताएको छ ।
बुढीतोलाको पर्यटकीय सम्भावनालाई उजागर गर्न महोत्सव आयोजना गर्न लागिएको हो । बुढीतोलाको ऐतिहासिक महत्व उजागर गर्ने, पर्यटन प्रवद्र्धन गर्ने तथा लगानी भित्र्याउने महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।
बुढीतोलामा ऐतिहासीक संग्रहालयको अवलोकन गर्ने, स्विमिङ पुलमा रमाउन र महोत्सव पछी आउने पर्यटकहरुका लागि घरघरमा होमस्टेको अवधारणा ल्याएको र त्यसको पनि प्रचार गर्न महोत्सव आयोजना गरिएको संयोजक भट्टराईले बताए । उनले महोत्सवले बुढीतोला क्षेत्रका स्थानिय उत्पादनहरुको प्रचार प्रसार र ब्राण्डिङ गर्नमा मद्दत गर्ने बताए ।
महोत्सवमा ६० वटा स्टल रहने छन भने महोत्सवमा प्रवेशका लागि सामान्य टिकट दर १ सय र विद्यार्थीलाई ५० तोकिएको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूका लागि भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।