कांग्रेसको १५औँ महाधिवेशनबाट पेशागत बिषयबिज्ञ क्षेत्रतर्फ केन्द्रीय सदस्यमा डा. प्रदीप मिश्र निर्वाचित

धनगढी : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत क्षेत्रबाट केन्द्रीय सदस्यमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र निर्वाचित भएका छन् ।

लामो समयदेखि चिकित्सा सेवा तथा सामाजिक कार्यमा सक्रिय रहँदै आएका डा. मिश्र पेशागत क्षेत्रबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । केन्द्रीय सदस्यमा निर्वाचित भएपछि डा. मिश्रले समग्र स्वास्थ्य क्षेत्रका समस्या, चुनौती र नागरिकका आवश्यकतालाई पार्टीमार्फत नीति निर्माणको तहसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विशेषगरी स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका तथा आर्थिक र सामाजिक कारणले गुणस्तरीय उपचार प्राप्त गर्न नसकेका आम नागरिकका स्वास्थ्यसम्बन्धी मुद्दालाई प्राथमिकताका साथ उठाउने उनले बताएका छन् ।

यसैबीच, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत क्षेत्रबाट केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी, प्रा. डा. जगदीश चन्द्र पोखरेल, अधिवक्ता सीताराम केसी, डा. प्रदीप मिश्र र केशव निरौला निर्वाचित भएका छन् ।

पेशागत क्षेत्रबाट केन्द्रीय सदस्यका पाँच पदका लागि भएको निर्वाचनमा ३६ जनाले उम्मेदवारी दिएका थिए । सीमित पदका लागि ठूलो संख्यामा उम्मेदवारी परेसँगै उक्त निर्वाचनलाई पेशागत क्षेत्रका उम्मेदवारबीचको प्रतिस्पर्धाका रूपमा हेरिएको थियो ।

Loading...