गोदावरी कांग्रेसद्वारा विपन्न परिवारलाई सहयोग

अत्तरिया : ‘जसको कोही पनि छैन, त्यसको नेपाली कांग्रेस’ भन्ने मूल नाराका साथ नेपाली कांग्रेस गोदावरी नगर कार्यसमितिले गोदावरी नगरपालिका-१ का तीन विपन्न परिवारलाई सहयोग गरेको छ । कांग्रेसले आज (शुक्रबार) सम्बन्धित परिवारको घरमै पुगेर आर्थिक अवस्था कमजोर भएका परिवारलाई खाद्यान्न, लत्ताकपडा तथा नगद सहयोग गरेको हो ।

नगरसभापति रबिन्द्र शाही (गुड्डु) ले महानपर्व विजया दशमी तथा दिपावलीको अवसरमा कसैलाई पनि खिन्नता बोध नहोस भन्ने सोचेर सहयोग गरिएको बताए । उनका अनुसार गोदावरी नगरपालिका-१ का ३ परिवारलार्ई नगद सहित करिब ५० हजार बराबरका खाद्यान्न, लत्ताकपडा, भाडाकुडा सहयोग गरिएको छ ।

अभियानकर्ता योगेश भट्टले दशैँको मुखमा खानलाउन अभाव भएका केही परिवारलाई कांग्रेस गोदावरीले सहयोग गरेको बताए । उनले वडासदस्य गम्भीर साउँदको विशेष पहलमा वडा नं. १ मा रहेको विपन्न परिवारलाई सहयोग गरिएको बताए । आगामी दिनमा पनि गोदावरी कांग्रेस सामाजिक कार्यमा सदैव अग्रसर रहने भट्टले प्रतिबद्धता व्यक्त गरे ।

सहयोग कार्यक्रममा नगर सभापति गुड्डु, कांग्रेस कैलाली क्षेत्र नं. ४ का पूर्व क्षेत्रीय सचिव जयराज फुलारा, कांग्रेसका युवा नेता पदम ओझा, नारायण रावल तथा अभियानकर्ता योगेश भट्टलगायतको उपस्थिति रहेको थियो ।

गोदावरी कांग्रेसले यसअघि पनि सो नारालाई आत्मसाथ गर्दै विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको थियो ।

Loading...