दार्चुलाको अपि बेस क्याम्पमा तीन दिने अपि हिमाल पर्यटन उत्सव आयोजना

​दार्चुला : सुदूरपश्चिम प्रदेशको सुन्दर तथा व्यवस्थित पदमार्गका रूपमा परिचित दार्चुला जिल्लाको अपि बेस क्याम्पमा तीन दिने अपि हिमाल पर्यटन उत्सव आयोजना हुने भएको छ।

अपि हिमाल गाउँपालिकाको आयोजनामा यही कार्तिक १७ गतेदेखि १९ गतेसम्म समुद्री सतहबाट करिब ४,००० मिटरको उचाइमा रहेको बेस क्याम्पमै यस विशेष उत्सवको सञ्चालन गरिने भएको हो। यात्राका क्रममा प्राकृतिक सौन्दर्यसँगै स्थानीय कला, संस्कृति र भेषभूषाको प्रचारप्रसार गर्ने उद्देश्यका साथ गाउँपालिकाले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो।

​उत्सवको पहिलो दिन अर्थात् कार्तिक १७ गते दार्चुलाको पृथक मल्देशी संस्कृति र परम्परागत भेषभूषाको विशेष अवलोकनका साथै साहित्यिक कार्यक्रमहरू सञ्चालन गरिनेछ। दोस्रो दिन कार्तिक १८ गते बेस क्याम्पमै विभिन्न कलाकारहरूको सांगीतिक प्रस्तुति रहनुका साथै ४,००० मिटरको उचाइमा मैत्रीपूर्ण क्रिकेट तथा भलिबल प्रतियोगिता हुनेछ, जसमा राष्ट्रिय खेलाडीहरूको समेत सहभागिता रहनेछ।

उत्सवको अन्तिम दिन अर्थात् कार्तिक १९ गते अपि हिमालको काखमा सहभागीहरूका लागि विशेष योग तथा ध्यान शिविरको आयोजना गरिनेछ। गाउँपालिकाले पदयात्री तथा पर्यटकहरूलाई यस अवसरमा अपि बेस क्याम्पको भ्रमण गरी उत्सवलाई भव्य रूपमा सफल बनाउन आह्वान गरेको छ।

Loading...