अत्तरिया : नृत्य र गायन विधाको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यक्रम एसईई आईडलको तेस्रो संस्कारणको अडिसन सम्पन्न भएको छ । कैलालीको गोदावरी नगरपालीकामा रहेको समैजी माध्यमिक विद्यालय मझगाउँमा प्रभात मिडिया एण्ड ईभेन्ट प्रालि को आयोजनामा अडिसन सम्पन्न भएको हो । विद्यार्थीहरुमा भएको नृत्य र गायन प्रतिभा प्रस्फुटनका लागि अडिसन आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक कुन्ती ओलीले बताइन।
एसईई आइडल तेस्रो संस्कारणको सुपका ९ जिल्लाका ३० भन्दा बढी स्थानहरुमा अडिसनहरु आयोजना गरिने छ । यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन् । यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउने आयोजकले बताएको छ।
असोज देखि फागुन सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन् । जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०\३० जना प्रतिस्पर्धिहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५\१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् ।
फाईनलबाट दुवै विधामा १\१ जना विजेता र १\१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमश: रु ५०\५० हजार र रु २५\२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११\१२ मा आंशिक छात्रवृत्ति पाउने आयोजकले बताएको छ।
थप अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगितामा सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरु भव्य रुपले आयोजना गरि सकेको बताएको छ।
मुख्य प्रबर्द्धकका रुपमा प्रदेश युवा परिषद्, सुप रहेको एसईई आइडल ३ मा रेडिकल एकेडेमी लगायतका विभिन्न संघसंस्थाको पनि विशेष सहयोग रहेको आयोजकले जनाएको छ।
