धनगढी : कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग एलपिएल को समुह ’डी’ को विजेताको रुपमा सत्यवती एकेडेमी अत्तरिया सेमीफाइनल प्रवेश गरेको छ।
यसअघि समुह ‘सी’ बाट घोडाघोडी क्रिकेट एकेडेमी, समुह ‘बि’ बाट युथ अफ टीकापुर सेमीफाइनल प्रवेश गरिसकेका छन्।सोमबार फाप्ला क्रिकेट मैदानमा सम्पन्न खेलमा सत्यवती एकेडेमीले क्रिकेट एक्सिलेन्स सेन्टरलाई ११ रनले पराजित गरेको हो।
सत्यवती एकेडेमीले दिएको १२७ रनको लक्ष्य पछ्याएको क्रिकेट एक्सिलेन्स सेन्टरले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ११५ रन बनाउन पुगेको थियो। एक्सिलेन्स सेन्टरको ब्याटिंगमा अर्जुन घर्तिले सर्वाधिक ३४ रन बनाए भने सचिन लेखकले १९, मनोज यादवले १७ तथा राजकुमार शाहले १३ रन बनाएका थिए।
सत्यवती एकेडेमीको बलिंगमा फिर्दोश अन्सारी र तृतराज दासले २र२ विकेट लिए भने अभिषेक कोइराला, सन्तोष कार्की, रञ्जित कुमार र सन्दिप क्षेत्रीले १र१ विकेट लिए। यसअघि टस जितेर ब्याटिंग गरेको सत्यवती एकेडेमीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२६ रन बनायो।
प्रतियोगिता अन्तर्गत मंगलबार पनि दुई खेल हुनेछन्। पहिलो खेल विहान ९ बजे कैलाली जिल्ला क्रिकेट क्लब र शुक्लाफाँटा ब्ल्याकबक्सबिच तथा दोश्रो खेल दिउँसो १ बजे शारदा सेकेण्डरी स्कुल र धनगढी क्रिकेट एकेडेमी बिच हुनेछ।
