कैलालीको गोदावरीमा पुष २७ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड हुने

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा पुष २७ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले उक्त प्रतियोगिता गर्ने भएको हो ।

आज (बुधबार) नगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । प्रतियोगितामा २१ सामुदायिक र २१ संस्थागत गरी नगरपालिका भित्रका ४२ वटा विद्यालयको सहभागिता रहने नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत बिष्णु अवस्थीले बताए ।

उनले प्रतियोगितामा सहभागिताका लागि एक हप्ता अगाडि देखि विद्यालयलाई सूचना जारी गरेको र सोहि सूचना अनुसार ४२ ओटा सामुदायिक तथा संस्थागत विद्यालयहरुको नाम दर्ता भएको बताए ।

उनका अनुसार प्रतियोगितामा ११ सय ५२ छात्र र ८ सय ९९ छात्रा गरी कुल २ हजार ५१ खेलाडी विद्यार्थीको सहभागीता रहने र प्रतियोगितामा १८ वर्ष भन्दा कम उमेर समूहका विद्यार्थीले भाग लिन पाउने छन् । यस्तै प्रतियोगितामा ६ जना शिक्षक र १५ जना विद्यार्थी लाई सम्मान गरिने उनले बताए ।

प्रतियोगिता अन्तर्गत ६ वटा बिधाका खेलहरु भलिबल, कबड्डी, मार्सलआर्ट, एथलेटिक्स र फुटबल खेलाइने राष्ट्रपति रनिङ शिल्ड व्यवस्थापन तथा निर्देशिका समिती संयोजक शिवराज भट्टराईले बताए ।

यहि पुस २७ गतेदेखि शुरु हुने प्रतियोगिता पुस २९ गतेसम्म गोदावरी नगरपालिका-५ मा रहेको सरस्वती माध्यमिक बिधालय गेटामा सञ्चालन हुने उनले बताए । संयोजक भट्टराईका अनुसार प्रतियोगिताको लागत १० लाख ९० हजार ८ सय ८० लाग्ने छ ।

गोदावरीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तेस्रो पटक आयोजना गर्न लागिएको हो । यसअघि गोदावरी-६ लालपुरमा रहेको शैलेश्वरी नमुना माविमा प्रतियोगिता आयोजना गरिएको थियो ।

Deep Jyoti Pustak psl
Loading...