एमाले सुदूरपश्चिम अधिवेशनः अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता

धनगढी : नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश अधिवेशनमा अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ।

प्रदेश अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका छन्। उनीहरू तीनै जना अछामका हुन्। अध्यक्षमा कञ्चनपुरका बचनबहादुर सिंहले पनि उम्मेदवारी दर्ता गराएका छन्।

तिमिल्सिनालाई प्रदेशका निवर्तमान अध्यक्ष दामोदर भण्डारी लगायतको समर्थन रहेको छ। जैसीलाई पोलिटब्युरो सदस्य कर्ण थापा लगायतको समर्थन रहेको बताइएको छ।

निर्वाचन समितिले मंगलबार बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो। अहिले पनि उम्मेदवारी दर्ता भइरहेको निवर्तमान प्रदेश अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए।

उम्मेदवारी दर्ता भएपछि उम्मेदवारको प्रारम्भिक नामावली बिहान साढे ११ बजे प्रकाशन गर्ने तयारी छ। त्यही समयभित्र उम्मेदवारको विरोधमा उजुरी दिन निर्वाचन कमिटीले समय तोकेको छ।

उम्मेदवारी फिर्ता गर्न कमिटीले साढे १२ बजेदेखि २ बजेसम्मको समय दिएको छ।
निर्वाचन तालिकाअनुसार मंगलबार दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।

निर्वाचन समितिले दिउँसो साढे २ बजे अन्तिम नामावली प्रकाशन गर्ने र बेलुकी ५ बजेदेखि मतदान सुरू गर्ने बताएको छ।

यद्यपि यसबीचमा सहमतिको प्रयास गरिने हुँदा निर्वाचन आजै हुनेमा प्रतिनिधिहरूले शंका गरेका छन्।

Deep Jyoti Pustak psl
Loading...