गोदावरी नगरपालिकाले शुरु गर्यो नदीजन्य पदार्थ उत्खनन् तथा विक्री शुल्क संकलन,दोस्रोपटक ठेक्का नपरेपछि तेस्रो पटकको लागि सूचना जारी
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले आज (मंगलबार) देखी नदीजन्य पदार्थ उत्खनन् तथा बिक्रि शुल्क संकलन शुरु गरेको छ । नगरपालिकाले दुईपटक सूचना जारी गरेर बोलपत्र आह्वान गर्दा पनि ठेकेदार नपाएपछि आफैले कर्मचारी परिचालन गरेर नदीजन्य पदार्थ उत्खनन् तथा बिक्रि शुल्क संकलन शुरु गरेको हो ।
नदीजन्य पदार्थको विक्री शुल्क संकलनका लागि ठेकेदार नपाएको र विकास निर्माणका कामहरु ठप्प भएकाले आजदेखी नगरपालिकाले आफै कर्मचारी राखेर नदीजन्य पदार्थको विक्री शुल्क संकलन गरिरहेको नगर प्रवक्ता गोपाल दत्त भट्टले बताए । उनले नगरपालिकाले जारी गरेको पहिलो र दोस्रो पटकको सूचनाको म्याद सकिएर तेस्रो पटक पनि सूचना जारी गरेको बताए । ठेक्का नलाग्दासम्म नगरपालिका आफैले रोयल्टी संकलन गर्ने नगर प्रवक्ता भट्टले बताएका छन् ।
असोज महिना सकिनैलाग्दासम्म नदीजन्य पर्दाथ उत्खनन्को कार्य सुरु नभएको भन्दै ट्याक्टर व्यवसायीहरु पनी आक्रोसित भएका थिए । नदीजन्य पदार्थ संकलनका लागि ठेक्का आह्वान गरेको दोस्रो पटकको समयावधि सकिएर नगरपालिकाले आज सुचना जारी गर्दै तेस्रो पटकका लागि ठेक्का आह्वान गरेको जनाएको छ ।
यसअघि नगरपालिकाले भदौ ६ गते पहिलो पटक ३० दिनको र असोज ६ गते दोस्रो पटक १५ दिनको समयावधी तोकेर सुचना प्रकाशित गरेको थियो । आज (मंगलबार)बाट नगरपालिकाले तेस्रो पटकको सुचना एक हप्ताको समयावधी तोकेर प्रकाशित गरेको छ । सो अवधीमा कसैको पनी आवेदन नपरेकाले तेस्रो पटक सूचना जारी गरेर बोलपत्र आह्वान गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले खुटिया, गोदावरी र खैरानाको नदीजन्य पदार्थ उत्खनन्का लागि ठेक्का आह्वान गरेको थियो । विगतमा गोदावरीका तिन वटा नदीको एउटै बोलपत्र आह्वान गरिदै आएकोमा यस पटक भने खुटिया नदीको छुटै र खैराना नदी र गोदावरी नदीको छुटै बोलपत्र आह्वान गरिएको छ । जस अनुसार खुटिया नदीको न्यूनतम बोलपत्र रकम ८ करोड ७६ लाख ७ हजार ७२८ र खैराना र गोदावरी नदीको न्यूनतम बोलपत्र रकम ४ करोड ९७ लाख ६ हजार १५६ तोकिएको छ ।
गत आर्थीक बर्षमा नगरपालिकाले ८ पटक सम्म बोलपत्र आह्वान गर्दा पनि ठेकेदार नपाएपछि आफैले कर्मचारी परिचालन गरेर नदीजन्य पदार्थको विक्री शुल्क संकलन गरेको थियो ।
रोयल्टीको शुल्क चर्को भएको भन्दै ट्याक्टर व्यवसायीहरुको विरोध
ट्याक्टर व्यवसायीहरुले नदीजन्य पदार्थको विक्री शुल्क चर्को भएको भन्दै विरोध जनाएका छन् । नगरपालिकाले आजबाट नदीजन्य पदार्थ उत्खनन् तथा बिक्रि शुल्क संकलन शुरु गरेपछि ट्याक्टर व्यवसायीहरु शुल्क घटाउनुपर्ने भन्दै बिरोधमा उत्रिएका थिए । उनीहरुले बिहानैबाट तेघरी र स्याउलेमा जम्मा भएर बिरोध जनाएका थिए ।
ट्याक्टर व्यवसायी देवराम बोहराले ९ सय शुल्क तिरेर नदिवाट ढुंगा,वालुवा उठाउन नसकिने बताए । ‘हामीले महंगो शुल्क तिरेर अनि कामदार लगाएर नदिजन्य पदार्थ उठायौ भने हाम्रो लगानी २५ सय सम्म आउछ’ उनले भने ‘अनि हामीले ५ हजारमा बेच्नुपर्ने बाध्यता हुन्छ, यस्तो महंगोमा कस्ले किन्छ ?’ उनले नदिबाट चर्को शुल्क तिरेर ल्याएर तत्काल राख्नको लागि ठाउँपनि नभएको बताए । ‘पहिले नदिबाट ल्याए सार्वजनिक जमिनको किनारमा केही समयको लागि राख्थ्यौ र पछि उठाउथ्यौ’ उनले भने ‘अहिले नगरपालिकाले राख्न नदिने भएकाले महंगो शुल्क तिरेर ढुंगा, वालुवा ल्याएर काहा राख्ने भन्ने समस्या पनि भयो ।’
ट्याक्टर व्यवसायीहरुको बिरोधका कारण खुटिया नदीमा भने उत्खननको काम सुरु नगरिएको स्याउले खुटिया ट्याक्टर व्यवसायी समितिका अध्यक्ष करन बोगटीले बताएका छन् । शुल्क घटाएर उत्खनन् सुरु गर्नुपर्ने आफुहरुको माग रहेको उनको भनाई छ । शुल्क नघटेसम्म खुटियाबाट नदीजन्य पर्दाथ उठाउन आफुहरुले नदीने उनले बताएका छन् ।
गोदावरी नदीमा जथाभावि उत्खनन् गर्दा बस्ती जोखिममा
गोदावरी नदीमा जथाभावि उत्खनन् गर्दा बस्ती जोखिममा परेको भन्दै स्थानियबासीले पनी विरोध जनाईरहेका छन् । गोदावरी नगरपालिका वडा नम्बर २ तेघरी बासीले बाढीले क्षति गरेको ठाँउमा तट्बन्धन नगरीकनै फेरी जथाभावी रुपमा नदीमा उत्खनन् गर्दा बस्तीनै जोखिममा परको भन्दै विरोध जनाईरहेका छन् ।
बाढीले क्षति गरेको ठाँउमा तट्बन्धन गर्नुपर्ने माग गरीएको स्थानीय विवश ओलीले बताए । उनले नदीले क्षति पुर्याएको ठाँउमा तट्बन्धन गर्नुपर्ने टोलबासीहरुको माग रहेको बताए । गतसाल पनि नदिबाट नदीजन्य पदार्थ उत्खनन् तथा बिक्रि शुल्क संकलनगरी राजस्व उठाएर नदिको जोखिम ठाउमा तारजाली नगरेको उनीहरुको भनाई छ ।
बर्षमा नदीबाट नदीजन्य पदार्थ उत्खनन् तथा बिक्रि शुल्क संकलनबाट करोडौ राजस्व उठाईन्छ तर नदी किनारमा जेखिममा रहेका बस्तीमा तरजालीको माग गरेपनि कुनै वास्ता नगरिएको स्थानियबासीले बताएका छन् ।
