अत्तरिया : कैलालीको अत्तरियामा रहेको सैनिक आवाशिय महाविद्यालय लोटस आई कप अन्तरविद्यालय क्रिकेट प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको पहिलो सेमिफाईनल खेलमा दुर्गालक्ष्मी नमुना माविलाई ६ विकेटले पराजित गर्दै सैनिकले फाईनलको यात्रा तय गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको दुर्गालक्ष्मीले १९ दशमलब ३ ओभर खेल्दै सबै विकेट गुमाएर १०७ रन बनाउन सक्यो । ७ रनमै पहिलो विकेट गुमाएको दुर्गालक्ष्मीले त्यसपछि भने केही सम्हालिएर खेलेको थियो ।
तर ३५ रनमा दोस्रो विकेट गएपछि दुर्गालक्ष्मीले मध्यक्रमका विकेटहरु धमाधम गुमाएको थियो । दुर्गालक्ष्मीका अन्त्यका खेलाडीहरुले राम्रो साझेदारी गर्दै टिमको स्कोर एक सय रन माथी पु–याएका थिए । दुर्गालक्ष्मीका तर्फबाट हिमाल बोगटीले २३ रन बनाए । सैनिकका निशान्त भट्टले ३ र बद्री कार्किले २ विकेट लिए ।
१०८ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको सैनिकको सुरुवात झन खराब रह्यो । सैनिकले ५ रनमै २ विकेट गुमाएको थियो । तर सुशिल चन्दको हाफ सेन्चुरीको मद्दतले सैनिकले १७ दशमलव ४ ओभरमै जित हासिल ग–यो । चन्द बाहेक सैनिकका प्रशान्त विष्टले २४ रन बनाए ।
दुर्गालक्ष्मीका मुकेश धामीले ३ विकेट लिएका थिए । खेलमा उत्कृष्ट प्रर्दशन गरेका सैनिकका सुशिल चन्दले म्यान अफ द म्याच घोषित भए । उनले नगद रु. १ हजार सहित ट्रफि प्राप्त गरे । अत्तरिया क्रिकेट क्लबको आयोजनामा प्रतियोगीता सञ्चालन भैरहेको छ ।
