अत्तरिया : कैलालीको गोदावरी नगरपालिका– ८ स्याउलेमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड श्रीपुरले आफ्नो स्थापना दिवस मनाएको छ ।
बिहिबार एक औपचारीक कार्यक्रमको आयोजना गरी संस्थाले २७औ स्थापना दिवस र शुभकामना आदान प्रदान गरेको हो । संस्थाका अध्यक्ष केशवराज विनाडीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले राजनितिक अस्थिरताका कारण देशमा विकास निर्माणका कार्यहरु पछाडी परेको बताए । उनले राजनितिक अस्थिरताले नै सबै क्षेत्रलाई असर गरेको बताए । उनले सबैले हातेमालो गरेमात्रै विकास निर्माणका कार्यहरु गर्न सकिने बताए ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । साना किसान सहकारी २७ वर्ष पुरा गरी २८औ वर्षमा प्रवेश गरेको अवसरमा कार्यक्रममा केक पनि काटिएको थियो । २०५४ सालमा स्थापना भएको सहकारीले लामो समयसम्म आफुलाई जिवित राख्न सफल भएको छ ।
उक्त सहकारीमा फागुन मसान्तसम्म ५ हजार ६९१ शेयरसदस्यहरु पुगिसकेका छन । सहकारीप्रति सदस्यहरुको विस्वासकै कारण हालसम्म सहकारी अब्बल सावित हुदै गएको बताईएको छ ।