धनगढीमा मंसिर ८ र ९ गते ‘आरोही उद्यमी मेला’ आयोजना हुँदै

धनगढी: सुदूरपश्चिम प्रदेशका महिला उद्यमीले उत्पादन गरेका स्थानीय तथा परम्परागत वस्तुको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले धनगढीमा मंसिर ८ र ९ गते ‘आरोही उद्यमी मेला २०८३’ आयोजना हुने भएको छ । एफसिएको आयोजनामा हुन लागेको मेलासँगै ‘आरोही सुदूरपश्चिम समूह’को छ महिने मेन्टरसिप कार्यक्रमको समापन समारोहसमेत आयोजना गरिने आयोजकले जनाएको छ ।

स्थानीय उत्पादनको पहिचान, बजार पहुँच विस्तार तथा महिला उद्यमीको उद्यमशील प्रयासलाई प्रोत्साहन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो । मेलामा सुदूरपश्चिमका महिला उद्यमीले उत्पादन गरेका मह, झोला, हस्तकलाका सामग्री, स्थानीय तथा परम्परागत उत्पादन र खाद्य सामग्रीलगायत विभिन्न वस्तु प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन् ।

आयोजकका अनुसार मेलामा करिब ३० वटा स्टल रहनेछन् । मेलाले महिला उद्यमीलाई आफ्ना उत्पादन तथा व्यवसाय प्रदर्शन गर्ने, सम्भावित ग्राहकसँग जोडिने र नयाँ बजार तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

Dhangadhi_Tihar 2083

त्यसैगरी, ‘आरोही: मेन्टरसिप, सीप विकास र सहकार्यमा आधारित महिलाको उद्यमशीलताको प्रवर्द्धन’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम समूहका महिला उद्यमीलाई छ महिनासम्म अनुभवी मेन्टरसँग आबद्ध गराई व्यक्तिगत मार्गदर्शन, सीप विकास, ज्ञान आदानप्रदान तथा व्यावसायिक सञ्जाल विस्तारका अवसर प्रदान गरिएको थियो ।

समापन समारोहमा सहभागी महिला उद्यमीहरूले छ महिनाको अवधिमा हासिल गरेका उपलब्धि, अनुभव तथा सिकाइ आदानप्रदान गर्नुका साथै आफ्नो उद्यमशील यात्राका आगामी सम्भावनाबारे छलफल गर्नेछन् ।

फिनल्यान्डस्थित परराष्ट्र मन्त्रालय र वुमेन्स बैंकको सहयोगमा सञ्चालित यस कार्यक्रमले महिला उद्यमीहरूको व्यावसायिक ज्ञान, सीप, आत्मविश्वास र नेतृत्व क्षमता अभिवृद्धि गर्दै उनीहरूको उद्यमलाई दिगो रूपमा अगाडि बढाउन सहयोग पुर्‍याउँदै आएको आयोजकले जनाएको छ ।

मेलाको आयोजना एफडब्लुइएन नेपाल, नेपाल युवा उद्यमी मञ्च, यूएन वुमन, मुक्त कमैया महिला विकास मञ्च, निड्स नेपाल र एकीकृत विकास समाज (IDeS) लगायत संस्थाको साझेदारीमा हुन लागेको हो । धनगढीस्थित होटल रुबसमा आयोजना हुने मेलामा प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ ।

Loading...