मुख्यमन्त्रीमा दोहोरो दाबी पेस भएपछि प्रदेश प्रमुख मियाँ कानुनी परामर्श लिदै

धनगढी : सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दोहोरो दावी पेश भएको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का तर्फबाट मुख्यमन्त्रीका लागि आइतबार प्रदेश प्रमुखको कार्यालयमा दोहोरो दावी पेश भएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारमा मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि चैत २३ गते प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि १० दिनको म्याद दिएर आह्वान गरेका थिए ।

उक्त म्यादको अन्तिम दिन नागरिक उन्मुक्तिबाट लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन । लामो समयदेखि नाउपा भित्र पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ र पार्टीका संरक्षक रेशम चौधरीले समानान्तर गतिविधि गर्दै आएकोमा त्यसकै निरन्तरता मुख्यमन्त्रीको दावीमा पनि दिइएको छ ।

पार्टी अध्यक्ष रञ्जिता पक्षबाट मुख्यमन्त्रीमा दावी पेश गरेका कैलाश चौधरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थन पाएका छन । सुदूरपश्चिम प्रदेशसभामा एमालेका १० जना र नेकपा माओवादी केन्द्रका सभामुखसहित ११ जना सदस्य छन् ।

रेशम चोधरी पक्षका लक्ष्मण किशोर चौधरीलाई नेपाली कांग्रेस, एकीकृत समाजवादीले साथ दिएका छन । एउटै पार्टीबाट छुट्टाछुटै दावी पेस भएपछि प्रदेश प्रमुख नजिर मियाँले कानुनी परामर्शमा लागेका छन् । कानुनी परामर्शपछि मात्र उनले निर्णय लिने बताइएको छ ।

Loading...