बझाङ : बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना चलिरहेको छ । पछिल्लो मतपरिणाम अनुसार माओवादी र कांग्रेसले मतान्तर घटाएका छन् । यसअघि दोब्बर अघि रहेको एमाले पछिल्लो गणनामा केही कमजोर देखिएको छ ।
कांग्रेसको परिणामलाई उछिन्दै माओवादी अघि बढेको छ । अहिलेसम्म छविसपाथिभेरा गाउँपालिका वडानम्बर १-७ वडालगाएत थलारा गाउँपालिका ९ को मत गणना सम्पन्न भएको छ ।
पछिल्लो सार्वजनिक मत परिणामअनुसार एमालेका उम्मेदवार दमन भण्डारीले १८०६ मत ल्याउँदा माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले १२७४ र कांग्रेसका उम्मेदवार अभिषेक सिंहले ११२८ मत ल्याएका छन् । एकीकृत समाजवादीका दिलबहादुर सिंहले ७२१ मत पाएका छन् ।
त्यसैगरी राप्रापाका उम्मेदवारले २४ मत पाउँदा ७७ मत बदर भएका छन्। बझाङमा अहिलेसम्म ३ हजार ४७१ मत गणना भएको छ । शनिबार सम्पन्न उपनिर्वाचनको मत गणना भइरहेको छ। तारबारभित्र मतगणना भइरहेको छ भने मतगणना स्थलमा बाक्लो मात्रामा सुरक्षाकर्मीहरू परिचालन गरिएका छन् त्यस्तै समर्थकहरूको चहलपहल पनि बढेको छ । अहिले खप्तडछान्ना गाउँपालिकाको मत गणना सुरू भएको छ ।
बझाङ प्रदेश सभा (१) मा प्रदेश सभा सदस्य उपनिर्वाचनमा ३० हजार तीन सय २८ खसेको थियो । बझाङ प्रदेशसभा १ (१) बाट निर्वाचित पृथ्वीबहादुर सिंहको गत असार ५ मा निधन भएपछि रिक्त स्थानमा २०८१ वैशाख १५ गते उपनिर्वाचन भएको थियो ।