धनगढी: धनगढीमा तीनदिने खाना उत्सव (फुड फेस्टिभल) आयोजना हुने भएको छ । धनगढी उपमहानगरपालिका र होटल व्यवसायी संघ कैलालीको सहकार्यमा फुड फेस्टिभल सञ्चालन गर्न लागिएको हो ।

फुड फेस्टिभल सञ्चालनका लागि धनगढी उपमहानगरपालिका र होटल व्यवसायी संघ कैलालीबीच सम्झौता भएको छ । सम्झौताअनुसार उपमहानगरपालिकाले फुड फेस्टिभल आयोजनाका लागि होटल व्यवसायी संघ कैलालीलाई १० लाख रुपैयाँ अनुदान उपलब्ध गराउनेछ ।
सम्झौताअनुसार फुड फेस्टिभल तीन दिनसम्म धनगढीमा सञ्चालन हुनेछ । कार्यक्रमको मिति, समय र स्थान दुवै पक्षको आपसी समन्वयमा निर्धारण गरिने बताइएको छ ।
धनगढीको स्थानीय खानाका परिकार, होटल तथा पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको फुड फेस्टिभलको व्यवस्थापनमा उपमहानगरपालिकाले आवश्यक समन्वय, सहजीकरण तथा अनुगमन गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।